दूषित पानी उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा दायर

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा ५ वटा बोटल तथा जारका पानी दूषित कसुरमा जिल्ला अदालतमा मुद्दा दायर भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उद्योग अनुगमन निरीक्षणका क्रममा ४५ वटामा अनुगमन गरेको थियो । १३ वटाको उजुरी गुनासो सम्बोधन भएको विभागले जनाएको छ ।

विभागका वरिष्ठ खाद्य अनुगमन अधिकृतका अनुसार उजुरी परेका जार तथा बोटलका पानीमा किरा भेटिएको, ज्वरो आउने, पेट दुख्ने, पुरानो जार प्रयोग गरेको अवस्था पाइएको हो ।

उक्त उजुरी परेका दूषित पानी उत्पादन तथा विक्री गर्ने कम्पनीलाई न्यूनतम २८० क्षतिपूर्ति र ७ हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले अधिकतममा ५० हजार रुपैयाँसम्म जरिवाना गरेको उनले बताए ।

चालु आवमा उजुरी परेका मध्ये ७ वटा कम्पनीलाई यसरी जरिवाना कारबाही गरेको छ । जरिवानामा पर्ने अधिकांशको मुद्दा रुपन्देही जिल्ला अदालतमा परेको उनले जानकारी दिए । एउटा उजुरी नवलपरासी अदालतमा परेको थियो ।

‘वर्षातको समयमा विशेष गरी पानीका उत्पादनहरूमा स्वच्छता एवं गुणस्तरमा समस्या आउने गरेको छ । यसको समाधानका लागि एकै प्रविधि अपनाइ स्वच्छता एवं गुणस्तर सधै भरी कायम गनुपर्ने हुन्छ,’ खत्रीले भने ।

जारको पानी उत्पादन अटोमेसनतर्फ लानु पर्ने

विभागकी महानिर्देशक मनिता जोशी वैद्यले सधैं कम्फटजोनमा बसेर मात्र काम गर्नु नहुने बताइन् । उनले विगतको समयमा १ लिटरको मिनिरल वाटरमा मात्र अटोमेसनमा गएको बताइन् । अब जारका पानी समेत अटोमेसनतर्फ लैजानु पर्ने बताइन् ।

उनले तत्काल अटोमेसन तर्फ जान नसके पनि आगाी आर्थिक वर्षबाट उत्पादन हुने जारका पानी समेत अटोमेसनबाट सञ्चालन हुनुपर्ने बताइन् । उनले नयाँ स्थापना हुने उद्योगका लागि श्रोत महत्वपूर्ण हुने भन्दै नयाँ आउने कम्पनीहरूले अटोमेसनमा जारका पानी उत्पादन गर्नुपर्ने बताइन् ।

उनका अनुसार अबको समयमा हाइस्केलमा गएर टेक्नोलोजी ल्याउन आवश्यक छ । उनले सुरुमा लगानी बढी भए पनि दीर्घकालीन व्यवसाय भएका कारण नयाँ टेक्नोलोजी अपनाउन व्यवसायीलाई आग्रह गरिन् ।

उनले टोल टोलमा ट्याङकरमा पानी राख्ने र त्यसकै पानी जारमा हालेर बेच्ने गरेको बताइन् । फोहोर जार प्रयोग नगर्न र जारमा स्ट्याम्प राख्न उनले उद्योगीहरूलाई निर्देशन समेत दिएकी छन् ।

‘जारमा १० थरी स्टीकर टास्नु भएन, कुनै एउटा चिन्ह लगाएर यो कुन कम्पनीको हो चिन्ने हुनुपर्यो । जारको मालीकको हो चिन्नुपर्यो, एउटा जार लगेर जतासुकै जो सुकैले लग्यो गर्नु हुँदैन,’ महानिर्देशक वैद्यले भनिन् ‘जार फिर्ता ल्याएर कुन कम्पनीको हो त्यही कम्पनीमा लगेर नष्ट गरेर नयाँ जार पठाउनु पर्यो ।’

खाद्य ऐनले कुनै पनि विक्री वितरणको केन्द्रबाट नमूना संकलन गर्ने व्यवस्था गरेको छ । उनले जारलाई घामको प्रत्यक्ष किरणमा राख्दा लेउ पर्न थाल्ने भएकाले त्यो घाममा नराख्न निर्देशन दिइन् । बजारमा पानी भरेर जाने जार सेते, भित्र भएको कुरा छर्लङ्ग देखिने हुनुपर्नेमा व्यवसायीले झन गाडा रङको जार उत्पादन गरेर पानी विक्री वितरण गर्ने गरेको बताइन् । विभागले हरेक ४ महिनामा पानीको परीक्षण गराउनु पर्ने व्यवस्था गरेको छ ।

बोटल तथा जार प्याकेजिङ तथा प्रशोधन मापदण्ड

बोटल, जार र त्यसको बिर्को फूड ग्रेडको हुनुपर्ने छ । बिर्कोे नन रिसाइकल प्लाष्टिक दानाबाट बनेको मात्र प्रयोग गर्नुपर्ने व्यवस्था छ । जारमा भएको वाह्य पदार्थ सफा गरिसकेपछि सूक्ष्म जीवाणु नष्ट गर्न क्लोरीन पानी वा स्यानीटाइजर मा जारलाई दुई मिनेट डुबाई त्यसलाई प्रशोधित पानीले कम्तीमा तीन पटक धोएपछि मात्र पानी भर्नुपर्ने व्यवस्था छ ।

स्वचालित मेशिनबाट सफागगर्ने तथा प्रशोधित पानी भर्ने व्यवस्था गर्दै जानुपर्ने मापदण्डमा उल्लेख छ । कुच्चिएका, कोत्रिएका, फुटेका, फोहोर जमेका लेउ लागेका तथा पुरानो भई पूरै अपारदर्शी भएका जारहरू प्र्रयोग गर्न पाइने छैन ।

बोटलको सन्दर्भमा अनिवार्य रुपमा स्वचालिट मेशिनबाट बन्द कोठामा सफाई गर्ने, प्रशोधित पानी भर्ने तथा विक्रो लगाउने कार्य गर्नुपर्ने व्यवस्था छ । एक लिटर पानी भर्नका लागि प्रयोग गर्ने बोटल २० ग्राम विर्को बाहेक भन्दा कम तौलको प्रयोग गर्न पाइने छैन ।

जार तथा बोटलमा वाह्य पदार्थ तथा निर्माणको अवस्थामा निस्केका टुक्रा हुनु हुँदैन । साथै कुनै खाल्का अस्वभाविक गन्ध आउनु हुँदैन । बोटल र जारको बिर्कोमा सुरक्षण सील अनिवार्य रुपमा लगाउनु पर्नेछ । एउटा उद्योगको जार अर्को उद्योगले प्रयोग गर्न नपाइने व्यवस्था छ ।

 

सगरमाथा इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस सेयर घट्यो Read Previous

सगरमाथा इन्स्योरेन्सको लाभांश परिमार्जन, बोनस सेयर घट्यो

चौडाइ घटाएर ६ वर्षपछि सम्पन्न गरिँदै ढोलाहिटी-लेले सडक Read Next

चौडाइ घटाएर ६ वर्षपछि सम्पन्न गरिँदै ढोलाहिटी-लेले सडक