४७ महिनापछि बुटवल-नारायणघाट सडक कालोपत्र गरिँदै

सांकेतिक तस्वीर

कावासोती । निर्माणाधीन पूर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्डमा कालोपत्रको परीक्षण सुरु गरिएको छ ।

आयोजनाको पूर्वी खण्डको भेडाबारीमा शुक्रबार १२० मिटर सडकमा अलकत्रा हालेर कालोपत्रको परीक्षण गरिएको आयोजनाका इन्जिनियर राकेश झाले जानकारी दिए ।

आयोजना सुरु भएको ४७ महिनापछि कालोपत्रको काम सुरु भएको हो । राजमार्गको मुख्य सडकमा पहिलोपटक परीक्षणका रुपमा सो काम सुरु भएको हो । भेँडाबारी खण्डको यो क्षेत्रमा आउँदो दुई साताभित्र १ किलोमिटर पिच गरिने इन्जिनियर झाले बताए । उनका अनुसार यो सडक १० मिटरभन्दा बढी फराकिलो छ ।

क्रसर उद्योगबाट नियमितरुपमा निर्माण सामग्री उपलब्ध भए आगामी असारसम्म १० किलोमिटर सडक कालोपत्र गरिने झाले बताए । राजमार्गमा फिलिङको काम भइरहँदा क्रसर उद्योग बन्द भएका कारण काम अघि बढाउन अप्ठेरो परेको झाले बताए । उनका अनुसार ग्राभेल हालेर पुर्ने काम सकिए पनि माथिल्लो भाग सम्याउन क्रसरका विभिन्न आकारको गिट्टी आवश्यक पर्छ ।

विसं २०७५ माघमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी सरकार र चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग सम्झौता भएको थियो । सो अवधि गत साउनमा सकिएकाले आगामी साउनसम्मका लागि समय थपिएको हो ।

विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै ६ दशकपछि पूर्व–पश्चिम राजमार्गको सो खण्डको विस्तार भएको हो । एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक विस्तार भइरहेको छ । निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।

अवैध क्रसर विरुद्ध सरकार आक्रमक, एक सातामै ७०० क्रसर बन्द Read Previous

अवैध क्रसर विरुद्ध सरकार आक्रमक, एक सातामै ७०० क्रसर बन्द

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्दै, भाडा कति ? Read Next

नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्दै, भाडा कति ?