काठमाडौं । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म ६९ किलोमिटर रेलमार्ग निर्माणको काम भइरहेको छ । सोमध्ये जयनगरदेखि कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनमा आइसकेको छ ।
कुर्थादेखि बिजलपुरासम्म लिक निर्माण पूरा गरी रेल सञ्चालनको परीक्षण भइसकेको छ । अब जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालनका लागि भारत रेलवे कर्पोरेसनले नेपाल रेलवे कम्पनीलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको छ ।
यस्तै, बिजलपुरादेखि बर्दिबाससम्म जग्गा प्राप्तिको प्रकृया अघि बढिरहेको रेल विभागका सूचना अधिकारी अमन चित्रकारले बताए । १८ किलोमिटर उक्त खण्डमा रेल निर्माणका लागि जग्गा प्राप्तिको काम ८० प्रतिशत हाराहारीमा भएको उनले जानकारी दिए । भारत सरकारको ७ अर्ब २० करोड आर्थिक सहयोगमा सुरू भएको परियोजना अन्तर्गत बर्दिबास खण्डमा जग्गा प्राप्तिको काम भइरहेको हो ।
रेल्वे कर्पोरेसनका इन्जिनीयरका रवीन्द्र शाहले बिजलपूराबाट बर्दिबाससम्म कमिटी गठन गरी जग्गा प्राप्तिको काम भइरहेको बताए । उनले जग्गा प्राप्तिपछि सो खण्डमा समेत रेल निर्माणका लागि बेड बिछ्याउने काम हुने बताए ।
बर्दीवासमा अधिग्रहण गरिएका ५४ बिघा जग्गा प्राप्ति गर्नुपर्नेमा अब २० प्रतिशत जग्गा प्राप्ति गर्न बाँकी रहेको उनले बताए । बर्दीवासमा रेल्वे स्टेसन तथा बन्दरगाह निर्माण गर्न रेल्वे कम्पनीले स्थानीय जग्गाधनीसँग प्रतिकट्ठा ८ लाख रुपैयाँदेखि ८१ लाख रुपैयाँसम्म मुआब्जा वितरण गरिएको जनाएको छ ।
मुआब्जा वितरणका लागि रेल्वे कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा दुईपक्षीय सम्झौता भएको थियो । रेलको निर्माण २०११ माघ महिनाबाट सुरू भएको थियो ।
ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडको निगरानीमा धनुषा र महोत्तरीमा २ वटा निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो ।
जस अन्तर्गत इनर्वा बोर्डरदेखी महुवा कपिलेश्वरसम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाई र ग्राभलको कामको ठेक्का नायक इन्फ्रास्ट्रक्चर प्रालि असम गुहाटीलाई दिइएको थियो ।
धनुषाको कालीका रमण जेभीलाई कपिलेश्वरदेखि भंगहासम्म २४ किलोमिटरमा माटो, स्लोप, दुवैतिरको घाँस रोपाइँ र ग्राभलको कामको ठेक्का दिइएको थियो । भारतको कम्पनीलाई सोही कामका लागि ६५ करोड र कालिका रमण जेभीलाई ७० करोडको ठेक्का दिइएको थियो ।