३ बैंक आधा खर्बका, मर्जरपछि कुन बैंक कत्रो बने ?

काठमाडौं । वाणिज्य बैंकहरू बीच आकारका आधारमा सबैभन्दा ठूलो बन्ने होडबाजी चलेको छ । यसैक्रममा तीन वटा वाणिज्य बैंकले पूँजीकोषका आकार आधा खर्ब बढी पुर्याएका छन् । बैंकहरूले अन्य बैंकसँग मर्जर गरी पूँजीकोषको आकार आधा खर्ब बढी बनाएका हुन् ।

नेपाल बंगलादेश बैंकलाई गाभेर नबिल गत वर्ष नै पूँजीकोषका आधारमा सबैभ्न्दा ठूलो बैंक बनेको थियो । तर, यससाता ग्लोबल आइएमईले बैंक अफ काठमाण्डू र नेपाल इन्भेष्टमेन्टले मेगा बैंकसँग मर्ज गरी पूँजीकोषका आधारमा नबिलभन्दा पनि ठूलो बनेका छन् ।

मर्जरपछि बनेका नबिल, ग्लोबल आइएमई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पूँजीकोषको आकार ५० अर्ब बढी पुगेको छ । हाल वाणिज्य बैंकको संख्या २२ वटा रहेको छ भने मर्जर प्रक्रियामा रहेका (हिमालयन र सिभिल तथा सनराइज र लक्ष्मी)बैंकहरूको एकीकृत कारोबार सुरु भएपछि वाणिज्य बैंकको संख्या २० वटामा झर्नेछ । २० वटा वाणिज्य बैंक मध्ये ३ वटा बैंक आधा खर्ब बढीका बनेका छन् ।

यस्तै, मर्जरपछि बनेका अन्य बैंकहरूको पनि पूँजीकोषका आकार २० अर्ब बढी रहेको छ । पछिल्लो १ वर्षको अवधिमा मात्रै १४ वटा बैंक एक आपसमा मर्ज तथा गाभिएका छन् । मर्जर सम्झौता गरेका १४ वटा बैंकमध्ये १० वटाले एकीकृत कारोबार समेत सुरु गरिसकेका छन् भने ४ वटा मर्जर प्रक्रियामै छन् । एक वर्षको अवधिमै वाणिज्य बैंकको संख्या २७ बाट २० वटामा झर्दैछ ।

नेपाल राष्ट्र बैंकको वाणिज्य बैंकको संख्या घटाउने मर्जर नीतिले बैंक बीच बिग मर्जरको लहर चलेको छ । पूँजी र व्यवसायको आकार बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले मर्जर तथा प्राप्तिको विकल्प अपनाएका छन् ।

गत वर्ष नबिलले नेपाल बंगलादेश बैंकलाई गाभेको थियो । चालु आवमा मात्रै ८ वाणिज्य बैंक एकापसमा मर्जर तथा प्राप्ति प्रक्रियामा गएर ४ वटा बनेका छन् । पुस १७ देखि कुमार र एनसीसी, पुस २५ गतेदेखि ग्लोबलले बैंक अफ काठमाण्डू, पुस २६ गते प्रभुले सेञ्चुरी र पुस २७ देखि इन्भेष्टमेन्ट र मेगा मर्ज भई एकीककृत कारोबार सुरु गरेका छन् ।

यस्तै, हिमालयन र सिभिलले माघ १८ देखि एकीकृत कारोबार गर्ने घोषणा गरेका छन् भने लक्ष्मी र सनराइजले यसैसाता मर्जर सम्झौता गरेका छन् ।

मर्जरपछि कुन बैंक कत्रो बने ?

मर्जरपछि ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकको पूँजी कोष आधा खर्ब बढी पुगेको छ । मुख्य वित्तीय सूचकहरूमा यी बैंकहरू बीच व्यापार, व्यवसायमा कडा टक्कर देखिएको छ ।

कुल पूँजीकोषका आकारमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सबैभन्दा ठूलो बनेको छ । यसको कुल पूँजीकोष ५८ अर्ब रुपैयाँ पुगेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकको पूँजीकोष ५७ अर्ब रुपैयाँ पुगेको छ भने नबिल बैंकको पूँजीकोष ५२ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, चुक्ता पूँजीका आधारमा भने ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बनेको छ । यसको चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रहेको छ । जबकी इन्भेटमेन्ट मेगाको ३४ अर्ब १२ करोड र नबिललको २७ अर्ब ५ करोड छ ।

यस्तै, निक्षेप संकलन र कर्जा लगानीमा ग्लोबल आइएमई बैंक नै अगाडि रहेको छ । ग्लोबलको कुल निक्षेप ४ खर्ब १२ अर्ब र कर्जा लगानी ३ खर्ब ७७ अर्ब रहेको छ । दोस्रोमा इन्भेष्टमेन्ट मेगाको निक्षेप ३ खर्ब ६० अर्ब र कर्जा ३ खर्ब २९ अर्ब छ भने नबिलको निक्षेप ३ खर्ब ३४ अर्ब र कर्जा ३ खर्ब ५ अर्ब छ ।

यसैगरी, एनसीसी बैंकलाई गाभेको कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड पुगेको छ भने पूँजीकोष ३७ अर्ब २२ करोड पुगेको छ । यस्तै, सेन्चुरी बैंक गाभेको प्रभुको चुक्ता पूँजी २३ अर्ब ५३ करोड र कुल पूँजी ३२ अर्ब रुपैयाँ रहेको छ ।

एकीकृत कारोबारपछि हिमालयन बैंकको चुक्ता पूँजी २३ अर्ब रुपैयाँ कायम हुनेछ भने कुल पूँजीकोष ३४ अर्ब १३ करोड रुपैयाँ पुग्नेछ ।
यसैगरी, लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबारपछि चुक्ता पूँजी २१ अर्ब रुपैयाँ पुग्छ भने पूँजीकोष ३३ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकहरूले पूँजीकोषको आधारमा व्यवसाय विस्तारको क्षमता राख्छन् । तर, पूँजीको आकार बढाउँदैमा व्यवसाय विस्तार तथा अन्य वित्तीय सूचकमा बैंकहरू अब्बल नै हुन्छन् भन्न नसकिने बैंकरहरू बताउँछन् ।

संस्थागत सुशासन, बैंकको संख्या घटाउने र वित्तीय आधार बलियो बनाउने उद्देश्य सहित राष्ट्र बैंकले मर्जरको नीति लिएको थियो । सोही नीतिको प्रभाव स्वरुप पूँजीको आकार ठूलो भएर बैंकहरूले त्यस अनुसारको व्यवसाय विस्तार गर्न सक्छन् वा सक्दैनन् भन्ने अर्को चुनौती थपिएको छ ।

वाणिज्य बैंकको संख्या अझै घट्ने

राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या ११ देखि १५ भए पुग्ने निष्कर्ष निकालेको थियो । ठूला बैंकहरूको संख्या बढ्दै गएपछि राष्ट्र बैंकले साना बैंकहरूलाई मर्जरमा जान दबाब दिइरहेको छ भने व्यवसाय विस्तार र लागत घटाउनका लागि बैंकहरू आफै पनि मर्जरमा जानुपर्ने बाध्यतामा छन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत पुस मसान्तभित्र एकीकृत कारोबार गरिसक्ने बैंकहरूलाई मर्जरमा दिइएका छुट तथा सहुलियत सुविधा उपलब्ध गराउने बताएको थियो । सोही सुविधा र सहजताको उपयोग गदै कम पूँजी भएका बैंकहरूले अझै मर्जरमा जान छलफल अघि बढाइरहेका छन् ।

अधिकांश बैंकको पूँजी र व्यवसायको आकार साना बैंकको तुलनामा दोब्बर बढी हुँदा सिटिजन, एनआइसी एशिया, माछापुच्छ्रे, सिद्धार्थ बैंक मर्जरमा जानु पर्ने दबाबमा छन् । जसको कारण बैंकहरूको संख्या अझ घट्न सक्ने राष्ट्र बैंकका अधिकारी र बैंक सञ्चालकहरूले बताइरहेका छन् ।

तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता, बिचौलिया हाबी हुँदा भाउ नै पाउँदैनन् Read Previous

तरकारी खेती गर्ने किसानलाई बजारको चिन्ता, बिचौलिया हाबी हुँदा भाउ नै पाउँदैनन्

टेलिकमको विन्टर अफर, ६९९ रुपैयाँमा २८ जीबी डाटा Read Next

टेलिकमको विन्टर अफर, ६९९ रुपैयाँमा २८ जीबी डाटा