काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सडकमा झण्डै ८ हजार सीसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । महानगरपालिकाले पहिलो चरणमा काठमाडौं महानगरपालिका भित्रका मुख्य सडकमा सीसी क्यामेरा जडान गर्ने तयारी गरेको हो ।
महानगरपालिकाका प्राविधिक इन्जिनीयर नवराज अधिकारीले काठमाडौं महानगरपालिका भित्रका मुख्य सडकमा सीसी क्यामेरा जडानका लागि काठमाडौं महानगरीय प्रहरीसँग छलफल भइरहेको बताए ।
उनले गुरु योजना अन्तर्गत प्रहरीसँग सहकार्य गरेर महानगर भित्र सीसी क्यामेरा राख्ने तयारी भइरहेको बताए । ‘सुरूमा मुख्य मुख्य सडकमा सीसी क्यामेरा राख्ने भनेर प्रहरीसँग सहकार्यका लागि छलफल गरिरहेका छौँ, छलफलपछि ठेक्का खोलेर सीसी क्यामेरा जडानको काम सुरू गर्ने छौँ,’ इन्जिनीयर अधिकारीले चाणक्य पोष्टसँग भने ।
उनका अनुसार काठमाडौं महानगर भित्र १० हजार सीसी क्यामेरा आवश्यक पर्ने देखिएको छ । हाल काठमाडौंका विभिन्न स्थानमा २ हजार हाराहारीमा सीसी क्यामेरा जडान भइसकेको उनले जानकारी दिए । उनले अब काठमाडौं महानगर भित्र झण्डै ८ हजार सीसी क्यामेरा राख्नुपर्ने देखिएको बताए ।
उनका अनुसार पहिलो चरणमा एयरपोर्ट, तीनकुने, कोटेश्वर, बानेश्वर, बबरमल लगायतका मुख्य सडकहरूमा आवश्यकता हेरी सीसी क्यामेरा जडान गरिने छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा सुरक्षा क्यामेरा राख्नका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । उनले सोही बजेटको क्षमता अनुसार सीसी क्यामेरा जडान कार्य सुरू गरिने बताए ।
यस अघि मेयर विद्या सुन्दर शाक्यको पालामा १ हजार ८०० सीसी क्यामेरा राख्ने भनिएको थियो । काठमाडौं उपत्यकामा २ हजार हाराहारीमा सीसी क्यामेरा जडान पहिल्यै प्रहरीले गरिसकेको उनले बताए ।
विगतमा नेपाल प्रहरी र महानगरपालिकाबीच कार्यदल बनाई सीसी क्यामेरा जडानको काम भएको थियो । सो समयमा सम्पदा क्षेत्र, नदीको किनार तथा मुख्य सडक क्षेत्रमा सीसी क्यामेरा जडान गरिने गरी कार्यक्रम तयार पारिएको थियो ।
यसको नियमन काठमाडौं महानगरीय प्रहरीले आफ्नै कार्यलयबाट गर्ने छ । यसले काठमाडौं महानगरपालिका भित्रको सुरक्षामा सहयोग पुराउने अधिकारीले बताए । उनका अनुसार महानगरपालिकाले पहिलो चरणमा सीसी क्यामेरा राखेपछि अन्य स्थानमा समेत सीसी क्यामेरा जडानका लागि वडा कार्यलयहरूसँग सहकार्य गर्ने कार्यक्रम रहेको छ ।