काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रोखण्ड (कलंकी–नारायणगोपाल चोक) विस्तारका लागि साइट क्लियरको काम धमाधम भइरहेको छ । चिनियाँ अनुदानमा ८ लेनमा विस्तार हुने ८.२ किलोमिटर यस सडकखण्डमा बिजुलीका पोल, घरटहरा हटाउने, ढल व्यवस्थापन लगायत कामले गति लिएको हो ।
चक्रपथ सडक विस्तार योजना प्रमुख सजना अधिकारीले साइटमा नेपालको तर्फबाट गर्ने काम भइरहेको बताइन् । उनले हाल सर्भिसलेनका लागि ट्रयाक खोल्ने काम भइरहेको बताइन् । उनले ‘नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम अहिले भइरहेको हो, हामीले सडकमा सर्भिसलेन ट्रयाक बनाउने काम गरिरहेका छौँ,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सूचना अधिकारी शिवप्रसाद नेपालले साइटमा भएका मन्दिरहरू हटाउन अझै बाँकी रहेको बताए । उनले २७ स्थानमा मन्दिर, पोल र बस स्टपहरू हटाउन बाँकी रहेको जानकारी दिए । उनका अनुसार मन्दिर हटाउनका लागि स्थानीयले अन्यत्रै जग्गा माग गरेका छन् ।
उनले केही स्थानमा वडाले नै मन्दिर हटाए पनि केहीले आफ्नो बजेटमा राखेर हटाउनुपर्ने भएकाले थप समय कुर्न अनुरोध गरेको बताए । उनले चिनियाँ टोलीले सबै साइट क्लियर नभएसम्म काम सुरू नगर्ने भनेकाले अझै समय लाग्ने बताए ।
‘चिनियाँले साइट क्लियर गरेपछि आउछु भनेका छन्, मन्दिरका लागि केहीले जग्गा नै माग गरेका छन्, ३ वटा पोल हटाउन र केही बस स्टेसन हटाउन सकिएको छैन, यो हटाउन पहल गरिरहेका छौँ,’ नेपालले चाणक्य पोष्टसँग भने ।
उनले चिनियाँ टोलीलाई समस्याका बारेमा समाधानसहित पत्र पठाउन अर्थमन्त्रालयमा पहल भएको समेत बताए । उनका अनुसार ट्रान्सफर्मरसहित भएको ३ वटा पोललाई ग्रिन वेल्टमा पार्ने गरी डिजाइन गर्न सुझाइएको छ ।
साइट क्लियरेन्सको काम नसकिएको भन्दै चिनियाँ टोली नेपाल आएका छैनन् । विगतमा पहिलो खण्डमा धेरै आलोचना खेपेको चिनियाँ कम्पनीले साइट क्लियर भएपछि मात्र काम अघि बढाउने भन्दै काम सुरू नगरेको हो ।
चक्रपथ सडकको सीमा चौडा ६२ मिटर कायम गरिएको छ । स्वयम्भूको चैत्य भने नभत्काउन सहमती भइसककेको छ । यसअघि कलंकीदेखि–धोबी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने भएको हो ।
बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको आयोजना उपनिर्देशक सजना अधिकारीले जानकारी दिइन् । ‘अहिले सर्भिस ट्रयाकको काम भइरहेको छ, पाइप हाल्ने काम गरिरहेका छौं,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् ‘काम कहिले सुरू हुन्छ थाहा छैन, हामी साइटमा काम गरिरहेका छौं, चिनियाँ प्राविधिक कोही आएका छैनन् ।’
चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरू गर्नेछ । निर्माण सुरू भएको ३ वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण देखाउँदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक आएपछि मात्र अध्ययनको काम सुरू हुने बताइएको छ ।
चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली मंसिर २०७८ मा साइट भिजिट गर्न नेपाल आएको थियो । यो सडक चीन सरकारको अनुदानमा निर्माण हुन लागेको हो ।
यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी १०.३९ किमि) ८ लेनमा विस्तार भइसकेको छ । पहिलोखण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।
सवारी चाप व्यवस्थापनका लागि सरकारले चालु आवमा कलंकी–नारायणगोपाल चोक क्षेत्रमा ढल, सर्भिस रोडका लागि १ अर्ब बजेट विनियोजन गरेको छ ।