नेपालको बिजुली किन्न बंगलादेश इच्छुक, आयातमा सहजीकरण गरिदिन भारतलाई आग्रह

काठमाडौं । बङ्गलादेशले नेपालको बिजुली सहजरुपमा आयातका लागि सकारात्मक सहयोग गर्न भारतलाई आग्रह गरेको छ । ऊर्जाको बढ्दो माग तथा सङ्कट समाधानका लागि बङ्गलादेशले सकारात्मक वातावरण बनाइदिन भारतसँग पुनः आग्रह गरेको हो ।

बङ्गलादेशका विद्युत्, ऊर्जा तथा प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतका नवीन तथा नवीकरणीय ऊर्जामन्त्री राजकुमार सिंहसँग बुधबार भएको भेटमा नेपालको बिजुली आयातका लागि देखिने गरी सहकार्य गर्न आग्रह गरेका हुन् । यसअघि गत सेप्टेम्बरमा पनि बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आफ्ना भारतीय समकक्षीसँग त्यस्तै आग्रह गरेका थिए ।

बङ्गलादेशले हाल भारतबाट १ हजार १६० मेगावाट बराबरको बिजुली लगिरहेको छ । भारतीय मन्त्री सिंहले नेपालबाट बङ्गलादेशमा बिजुली आयातका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाउनुभएको बङ्गलादेशका सञ्चारमाध्यमले जनाएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट नौ हजार मेगावाट बिजुली लैजाने रणनीति तय गरेको छ ।

बङ्गलादेशले सुनकोशी तेस्रो जलविद्युत् आयोजनामा लगानीका लागि चासो व्यक्त गर्दै आएको छ । यस्तै, भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर)ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट बिजुली लैजाने बताएको छ । यस्तै, गत भदौ ९ गते सम्पन्न नेपाल र बङ्गलादेशको ऊर्जा सचिवस्तरीय बैठकले तत्काल नै नेपालबाट ५० मेगावाट बिजुली लैजाने सहमति जनाएको थियो ।

बिजुली लैजानका लागि भारतीय संरचना प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णयसमेत सो बैठकले गरेको थियो । सचिवस्तरीय बैठकले भारतीय भूमि र संरचना प्रयोगका सम्बन्धमा आवश्यक सहमति जुटाउन त्रिपक्षीय छलफल गर्ने सहमति गरेको थियो ।

नेपाल र बङ्गलादेशबीच डेडिकेटेड विद्युत् प्रसारण लाइन निर्माण गर्न भारतको अनुमति आवश्यक छ । बङ्गलादेशले प्रारम्भिक चरणमा ४० देखि ५० मेगावाट बराबरको बिजुली लैजान सकिने बताएको थियो । बङ्गलादेशको भेरामारामा अवस्थित हाइ भोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमता उपयोग गरी नेपालबाट त्यहाँ प्रारम्भिक चरणमा बिजुली निर्यातको मार्ग खोल्ने तयारी गरेको छ ।

विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी व्यापार निगमबीच त्रिपक्षीय समझदारी हुन आवश्यक छ । प्राधिकरण र बङ्गलादेशको बोर्डले भारतीय पक्षलाई अनुरोध गर्ने सहमतिसमेत भएको थियो ।

एनभीभीएन भारतको ऊर्जा व्यापारको ‘नोडल एजेन्सी’ हो । बङ्गलादेशले हाल भारतबाट बिजुली लगिरहेको संरचनाले धान्ने बराबरको बिजुली लैजान तयार रहेको जनाएको थियो ।

विद्यमान संरचनाले करिब ४० देखि ५० मेगावाटसम्म बिजुली लैजान सकिने देखिएको छ । बङ्गलादेशले कुल ६८३ मेगावाट क्षमताको सुनकोसी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि सहमति जनाउँदै त्यसका लागि संयुक्त उपक्रममा रहने गरी प्रक्रिया अगाडि बढाइने सहमति गरको छ ।

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण Read Previous

नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण

जुत्ताचप्पल निर्यातको उच्च निर्यात सम्भावना, तर छैन सरकारी पहल Read Next

जुत्ताचप्पल निर्यातको उच्च निर्यात सम्भावना, तर छैन सरकारी पहल