ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि सामान व्यवस्थापन हुँदै, माघदेखि फिल्डमा काम सुरू हुने

सांकेतिक तस्वीर

काठमाडौं । ललितपुरको ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण माघको पहिलो सातादेखि सुरु हुने भएको छ ।

हाल आवश्यक तयारी भइरहेको भन्दै सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता सिनियर डिभिजनल इञ्जिनियर सौरभ बज्राचार्यले माघको पहिलो सातादेखि निर्माण सुरु हुने बताए ।

‘हाल सामान व्यवस्थापनको काम भइरहेको छ, सम्भवतः १० दिनपछि निर्माण सुरु हुन्छ,’ उनले भने, ‘अहिले नै बाटो बन्द गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले सबै तयारी पूरा भएपछि मात्रै निर्माण सुरु गर्न लागिएको हो ।’ केही सामानहरु आयात हुन बाँकी रहेकाले सामान ल्याउने काम भइरहेको उनले बताए ।

फ्लाइओभर निर्माण अवधि १४ महिना तोकिएको छ । यस क्षेत्रमा पर्ने सडक विस्तार गरी १० लेन बनाइए पनि ट्राफिक जामको समस्या समाधानका लागि फ्लाइओभर बनाउन लागिएको हो । हाल यस क्षेत्रमा चार लेनको मुख्य सडक, सर्भिस लेन र त्यसभन्दा बाहिर दुवैतर्फ एक/एक लेन छन् ।

सबैभन्दा बाहिरी लेनमा हाल सवारी साधन पार्किङ भइरहेकाले त्यसलाई हटाएर नियमित सवारी सधान गुड्ने बनाउनुपर्ने सूचना अधिकारी बज्राचार्यको भनाइ छ । उक्त लेन सञ्चालन गरी मोटरसाइकल सञ्चालन गर्न सकिने उनले बताए ।

फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ भने बालकुमारीतर्फ २८० मिटर लामो ‘र्याम’ र सातादोबाटोतर्फ १७५ मिटर लामो ‘र्याम’ बनाइनेछ । कुल ४९० मिटर लम्बाइको फ्लाइओभरमा ‘सुपर स्ट्रक्चर’ ३५ मिटर हुनेछ । फ्लाइओभर सञ्चालनमा आएपछि मङ्गलबजार– इमाडोल– मङ्गलबजार चल्ने सवारीसाधन पुलमुनिबाट जानेछन् भने चक्रपथमा गुड्ने सवारी साधन पुलमाथिबाट गुड्नेछन् ।

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने Read Previous

फागुन २ गतेदेखि भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी हुने

अनधिकृत होर्डिङ बोर्ड हटाउँदा ३ हजारसम्म जरिवाना लाग्ने Read Next

अनधिकृत होर्डिङ बोर्ड हटाउँदा ३ हजारसम्म जरिवाना लाग्ने