नवलपरासी । नवलपुरको बोझापोखरीमा ७ वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सबस्टेशनको निर्माण कार्य पूरा भएको छ ।
विसं २०७३ मा ३ वर्षभित्र निर्माणको काम सम्पन्न गर्ने गरि जिल्लाको पहाडी क्षेत्र बोझापोखरीमा विद्युत् सबस्टेशन निर्माणको काम सुरु गरिएको थियो । पहिलो सम्झौताअनुसार विसं २०७५ भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो तर त्यस अवधिमा जम्मा ५ प्रतिशत काममात्रै भएर झण्डै रुग्ण आयोजनाको रुपमा परिणत भएको सबस्टेशन निर्माण कार्य पटकपटक म्याद थप गर्दै पहिलो सम्झौता अवधिको करिब ४ वर्षपछि निर्माण सम्पन्न भएको हो ।
नवलपुरको पहाडी क्षेत्र बौदीकाली, बुलिङटारसहित हुप्सेकोटको पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सबस्टेशन निर्माणको काम सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ ।
जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार रहेका छन् । तनहुँ तर्फबाट लाइन तानेर केही क्षेत्रमा विद्युतीकरण गरिएको छ । कतिपय स्थानमा लघुजल विद्युत्बाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको छैन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।
अब बोझा पोखरीको सबस्टेशन निर्माणको काम सकिएकाले जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता हुने नेपाल विद्युत् प्राधिकरण वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना बुटवल डिभिजनका सहायक प्रबन्धक विनोद पन्थिले बताए । ‘आयोजनाको काम सकिएको छ, अहिले सबस्टेशन चार्ज गर्ने काम चलिरहेको छ, चाँडै यहाँबाट जिल्लाको पहाडी क्षेत्रमा बिजुली बाल्ने काम हुनेछ,’ सहायक प्रबन्धक पन्थीले भने।
उनका अनुसार यही पुस १४ गतेदेखि नवलपुरको प्रगतिनगरबाट करेन्ट प्रवाह गरी लाइन चार्ज गर्ने र सबस्टेशन चार्ज गर्ने काम सुरु भएको छ । यसलगत्तै ११ हजार केभीको लाइन चार्ज गरी स्थानीयस्तरमा वितरणको काम सुरु हुनेछ । आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौबादीसम्म र बुलिङटारको केही क्षेत्रसम्म ११ हजार केभीको लाइनसमेत वितरण हुनेछ । त्यसका लागि पोल गाड्ने र तार टाङ्ने कतिपय काम सकिएको छ ।
‘सबस्टेशन सञ्चालन पछि केही क्षेत्रमा स्थानीयस्तरमा विद्युत् वितरणका लागि आयोजनाबाट काम हुनेछ, त्यसबाहेक सम्बन्धित जिल्लाबाट विद्युत् वितरणको काम हुनेछ,’ सहायक प्रबन्धक पन्थीले भने, ‘ढिलोमा एक महिनामा सबै काम सकिने विश्वास छ, हामीले निर्माणको जिम्मा पाएको कम्पनीलाई सोहीअनुसार काम गर्न भनेका छौँ ।’
बोझापोखरी क्षेत्रमा भने केही दिनमा दुईवटा ट्रान्सफर्मर जडान गरी बत्ती बाल्ने तयारी गरिएको उनले बताए। सबस्टेसन निर्माणको काम अलपत्र पर्दा लामो समयदेखि अन्धकारमा बस्न बाध्य पहाडी क्षेत्रका बासिन्दा अब भने उज्यालोमा बस्न पाउने भएका छन् ।
कोभिडको प्रवाह र विभिन्न कारणले आयोजना निर्माण हुन समय लागेको सहायक प्रबन्धक पन्थीले बताए। भारतीय एटुजेड इन्फ्रा इन्जिनियरिङ कम्पनीमार्फत सब कन्ट्याक्टर त्रिपुरेश्वर र जयदुर्गे इन्जिनियरिङले करिब रु १२ करोडको लागतमा सबस्टेशन निर्माणको जिम्मा पाएको थियो ।