९ वर्षदेखि अलपत्र टेकु बायोग्यास प्लान्ट मर्मत, फोहोरबाट ग्यास र बिजुली निकालिने

काठमाडौं । काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको मेसिन मर्मत गरिएको छ । ९ वर्षदेखि अलपत्र उक्त प्लान्टको मेसिन राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गरिदिएको हो ।

केन्द्रका प्रमुख महावीर पुनले बायोग्यास प्लान्टको मेसिन मर्मत अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार एक हप्ताभित्र मर्मत काम सम्पन्न गरेर काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गरिने छ ।

उनले ग्यास प्लान्ट धेरै जीर्ण अवस्थामा रहेकाले मर्मतको काम जटिल र झन्झटिलो भएको बताए ।‘यो साह्रै झन्झटिको काम रहेछ, हामीले पत्रु भइसकेको सामानलाई सफा गरेर, केही पाटपूर्जा फेरेर जेरो लेभलदेखि बनाएका छौँ,’ पुनले चाणक्य पोष्टसँग भने ‘अब १ हप्ता जतिमा हस्तान्तरण गर्ने छौँ ।’

उनले किनेर ल्याएका सामानहरु कवाडीले चोरेर लाने समस्या धेरै भएको बताए । उनले मर्मतका लागि ल्याइएको प्लम, मोटर चोरी भएको बताए । हालसम्म आविष्कार केन्द्रले बायो ग्यास प्लान्ट मर्मतका क्रममा ५ लाख रुपैयाँ बढी खर्च गरेर उनले जानकारी दिए । उनले हस्तान्तरण गरेपछि समेत समस्या आए फेरि मर्मत गर्ने बताए ।

काठमाडौं महानगरपालिकाले फोहोरबाट मोहर उत्पादन गर्ने लक्ष्यसहित ल्याएको ‘बायो ग्यास प्लान्ट’ ९ वर्षदेखि अलपत्र रहेको थियो । १ करोड ८६ लाख रुपैयाँ खर्चेर ल्याएको उक्त मेसिन हाल टेकुस्थित महानगरको वातावरण विभागमा प्रयोगविहीन अवस्थामा थियो । महानगरको नेतृत्वमा बालेन्द्र शाह आएपछि उक्त बायो ग्यास प्लान्टको मेसिन मर्मतका लागि आविष्कार केन्द्रलाई जिम्मा दिइएको थियो ।

वि.सं. २०७१ सालमा दाताको सहयोगमा बायो ग्यास मेसिन ल्याइएको थियो । युरोपेली युनियन (ईयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यहोर्ने गरी १ करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने यस प्लान्टको प्रयोगले सहरभित्रको अधिकांश फोहोरलाई मोहोरको रुपमा प्रयोग गर्न सक्ने विश्वास राखिएको थियो ।

२०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घााटन गरेका थिए । त्यसपछि यो प्लान्ट बन्द अवस्थामा रहेको छ । फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर आसपासका सरकारी भवनमा वितरण गर्न सकिने लक्ष्य राखिए पनि योजना सफल हुन सकेन ।

दैनिक प्रयोगमा ल्याउन सके काठमाडौंको ४०० मेट्रिकटन फोहोर सो मेसिनले नै खपत गर्न सक्ने छ । फोहोर खपत गर्ने मेसिन बिग्रिँदा काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समेत समस्या हुने गरेको छ ।

दैनिक उत्पादन हुने ३०० मेट्रिक टन फोहोरमार्फत १४ किलोवाट बिजुली, ९६ केजी एलपी ग्यास र १३ हजार ५०० लिटर प्रशोधित पानी उत्पादन क्षमताको सो परियोजना काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याउन सकेको छैन ।

महानगरपालिकाले सञ्चालनमा ल्याएको सो परियोजनाबाट करिब ६ महिनासम्मका लागि बिजुली उत्पादन भए पनि बायो ग्यास उत्पादन नहुँदै बन्द भएको थियो । अब मेसिन मर्मत भएकाले पुनः फोहोरबाट ग्यास र बिजुली उत्पादन गरिने महानगरले जनाएको छ ।

हाल काठमाडौंमा दैनिक करिब १ हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरको केही प्रतिशत पनि काठमाडौंमा खपत गर्न सकिने अवस्था छैन । यो मेसिनलाई बिजुली उत्पादन मात्रै नभएर ग्यासलगायत अन्य नवीकरणीय ऊर्जा उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ ।

 

यातायात कार्यालयको सेवामा बिचौलियाको बिगबिगी, स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् Read Previous

यातायात कार्यालयको सेवामा बिचौलियाको बिगबिगी, स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन्

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Next

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?