झिलिमिली बत्तीले विस्थापित गर्दै माटोका पाला

"कृष्णा शर्मा"

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा दिपावलीका लागि आवश्यक पर्ने माटाका पाला बनाउन यतिबेला भक्तपुरमा कुमाले जातिलाई भ्याइ–नभ्याइ छ । दिपावलीको समय हरेक घरको झ्याल तथा ढोकामा बत्ती बाल्न माटोको पाला प्रयोग गरिन्छ ।

 

दिपावलीको समय आएपछि भक्तपुर नगर तथा मध्यपुर थिमिका माटाका भाडा बनाउने क्षेत्रका वासिन्दा काममा व्यस्त हुने गर्दछन् । अन्य समयमा दैनिक दुई दर्जन बिक्री नहुने पाला तिहारको समयमा दैनिक ३ हजार दर्जनसम्म बिक्री हुने गरेको यस क्षेत्रका व्यवसायीहरू बताउँछन् ।

 

पछिल्लो समय तिहारमा आफ्नो घर–आँगन झिलीमिलि पार्न अनेक प्रकारको विद्युतीय बत्तीहरु प्रयोगमा आएपनि माटोको दियो अर्थात पालाको प्रयोग पनि भइरहेको देखिन्छ । भक्तपुर जिल्लाका प्रजापति समुदाय यतिबेला तिहारको लक्ष्मी पूजाको दिन बाल्ने पाला बनाउन निकै व्यस्त रहेका छन् ।

 

भक्तपुरमा प्रजापती समुदायले बनाएको पालामा दियो बालेर घर झिलीमिली बनाउने गरिन्छ । हालैको दिनमा भेटिएका विवेक प्रजापति पाला बनाउनका लागि माटो मुछ्दै थिए । यस वर्ष ५० हजार पालाको अर्डर आएको उनी बताउँछन् । तिहारअघि नै जसरी पनि बनाउनु पर्ने उनले भने । अर्डर पाए अनुसार काम गर्ने भएको हुँदा उनलाई आफूले बनाएको सामान कहाँसम्म पुग्छ भन्ने कुनै जानकारी छैन ।

 

विगतको समयमा भन्दा अहिले माटोको पालाको अर्डर निकै कम हुन थालेको उनको अनुभव छ । ६/७ वर्ष अघिसम्म मैले तिहारको लागि ८० हजार पालाको अर्डर पाएको थिए तर अहिले जम्मा ५० हजार पालाको अर्डर आएको छ, प्रजापति गुनासो पोख्छन् । बजारमा आएका अनेक प्रकारका बत्तीले गर्दा पालाको व्यापारमा कमी अउन थालेको उनको ठम्याई छ ।

 

३ वर्ष अघिसम्म आफूले २ रुपैयाँ गोटामा पाला विक्रि गर्दै आएको थिए प्रजापति भन्छन् तर अब ३ रुपैयाँ लागत आफ्नै पर्न जान थालेको छ । बजारमा प्रति गोटा ५ रुपैयाँमा पाला बेच्नुपर्ने स्थिती रहेको छ । यसको मुख्य कारण भने पालाका लागि आवश्यक माटोको अभाव हो, उनी भन्छन् ।

 

आधुनिक घरहरु निर्माण हुँदा राम्रा रंग लगाएर सिंगारिएका घरमा दियोको मुस्लोले कालो पार्ने डर भएर पनि होला दियोको भन्दा विद्युतीय झिलिमिली बत्ती बढी लोकप्रिय हुँदै गएको छ ।

 

यस्तै, भक्तपुरकी ४४ वर्षिय श्रीलक्ष्मी प्रजापतिको पनि हालको समय माटोको पाला बनाउने काममा बित्ने गरेको छ । उनका छोराहरुले माटोको पाला बनाउे काम गर्छन भने उनी त्यसलाई सुकाउने र रंगाउने काममा व्यस्त हुने गरेको बताउँछिन् । पहिले ५० देखि ६० हजार पाला तिहारको लागी तयार गरिने गरेकोमा हाल १०–१५ हवार पालाको पनि अर्डर पाउँन कठीन भएको उनले गुनासो पोखिन ।

 

यसरी आगामी दिनमा पालाको खपत घट्दै जाँदा व्यवसायनै संकटमा पर्न सक्नेमा उनी डराउँन थालेकी छन् । श्रीलक्ष्मी प्रजापतीका अनुसार तिहारमा नेवार समुदायले एक मुखे र चार मुखे गरी दुई थरीको पाला प्रयोग गर्ने गरेका छन् । एकमुखे पालाहरू लक्ष्मीपूजाको दिन घर सजाउनका लागि प्रयोग गरिन्छ भने म्हपूजा र भाइटीकाको दिनमा दाजुभाइ र परिवारको अगाडि बाल्नका लागि चारमुखे पालाको प्रयोग हुने गरेको उनले बताईन् ।

 

पालाको माग घट्दो

 

पछिल्लो समय मानिसको जीवनस्तरमा आएको परिवर्तनसंगै तिहारमा माटोको पालालाई अन्य विभिन्न प्रकारका आधुनिक बत्तीले विस्थापित गर्न थालेको देखिन्छ । आधुनिक घरहरु निर्माण हुँदा राम्रा रंग लगाएर सिंगारिएका घरमा दियोको मुस्लोले कालो पार्ने डर भएर पनि होला दियोको भन्दा विद्युतीय झिलिमिली बत्ती बढी लोकप्रिय हुँदै गएको छ ।

 

पहिलाको भन्दा अहिले माटोका पालाको माग कम हुने गरेको पोटरी स्क्वायरका विनोद प्रजापती बताउँछन् । बिजुली बत्तीको बढ्दो प्रयोगका कारण अहिले पहिलाको जस्तो पालाको व्यापार नहुने विनोद बताउँछन् ।

 

विगतमा यस पोटरी स्क्वायरमा करिब ३ सय प्रजापति परिवार माटोको पाला लगायत अन्य माटाका भाँडा बनाउने काम गर्दथे विनोद भन्छन् तर अहिले करिब ६०/६५ परिवार मात्रै यस व्यवसायमा संलग्न रहेका छन् । यस क्षेत्रमा काम गर्ने ती व्यक्ती कोही विदेश त कोही अन्य व्यवसायमा संलग्न भएको उनले बताए । यसो हुनुको प्रमुख कारण भने पछिल्लो समय नेपाली बजारमा माटोको पालाको माग कम हुँदै जानु रहेको विनोदको ठम्याई छ ।

 

 

त्यस्तै पालाका लागि आवश्यक माटोको पनि उत्तिकै अभाव रहेको उनले थप खुलाएका छन् । उपत्कामा मात्रै १५ लाख थानभन्दा बढी माटोको पालाको खपत हुने उनको ठम्याई छ । यसबाट करिब ४५ लाख रुपैयाँ बराबरको आम्दानी हुन सक्ने विनोदले अनुमान गरेका छन् । यसबाहेक उपत्यका बाहिर पनि तिहारको समय पालाको निकै व्यापार हुने गरेको छ ।

 

लक्ष्मीलाई खुसी पार्न दियो

 

लक्ष्मी–धनकी देवीअर्थात धनको प्रतिक मानेर लक्ष्मीको पूजाआजा गरिन्छ । हरेकले धन एवम ऐश्वर्य प्राप्तीका लागि लक्ष्मीलाई खुशी पार्न धुमधामका साथ पूजा गर्ने परम्परा रहेको छ । यसका लागि घर उज्यालो र आकर्षक हुनु निकै आवश्यक छ । यसरी, तिहारको समयमा घर सफासुग्घर राख्ने, फूलमालाले सजाउने साथै दियो बालेर उज्यालो पारि लक्ष्मीलाई स्वगत गर्ने गरिन्छ । दीप वा बत्तीलाई जसरी वर्णन गरेपनि त्यसको शाब्दीक अर्थले उज्यालो, सुख, शान्ति, ज्ञान, पवित्रता आदिलाई बोध गराउँछ ।

 

पहिले लक्ष्मीपूजाको दिन प्रयोग गरिने पाला त्यही दिन बनाएको, नपोलेको काँचो माटोको हुनुपर्दथ्यो । तर हिजोआज यो मान्यता कायम छैन । पहिला नै बनाएर राखीएका र पोलेका पालाहरु पनि लक्ष्मीपूजाको दिन प्रयोग हुन थालिसकेका छन् ।

 

नेवार समुदायमा लक्ष्मीपूजाको दिनमै बनाएको काँचो माटोको पालामा तेल राखेर दियो बाल्ने परम्परा अहिले पनि यथावत छ । लक्ष्मी अँध्यारोमा बस्दिनन् भन्ने आध्यात्मिक मान्यताअनुसार नै पालामा दियो बाल्ने चलन सुरु भएको संस्कृतिविद ओम धौभडेल बताउँछन् । घरमा दियो बालेर जति उज्यालो बनाउन सक्यो त्यति नै लक्ष्मीको आगमन हुने विश्वास पनि छ ।

 

संस्कृतिविद धौभडेलका अनुसार, हिन्दु धर्ममा धेरै पहिलेदेखि नै दीपावली गर्ने परम्परा चलिआएको र अन्यमा पनि धनकी देवीको पूजा गर्ने परम्परा रहेको छ । विश्वका युनान, ग्रिक, मेसोपेटामेनियाजस्ता पुरानो सभ्यतामा लक्ष्मीजस्तै धनका देवीहरूलाई बत्ती बालेर पूजा ग भरेका तथ्य इतिहासमा पाइएको छ,’ उनले भने, ‘तत्कालीन मुद्राहरूमा धनसँग सम्बन्धित हात्ती, कमललाई कुँदिएको पाइएको छ ।’

 

नेवार संस्कृति र पाला

 

पालाको प्रयोग विशेषगरी नेवार समुदायमा बढी हुने गरेको पाइन्छ । नेवारहरूले घरको पिखालाखी (आँगन) देखि ढुकुटीसम्म र झ्याल, ढोकामा समेत पालामा बत्ती बाल्ने परम्परा रहेको छ । यसले लक्ष्मी माताले घर धनधान्य बनाइराख्ने विश्वास रहेको छ ।

 

धनकी देवी लक्ष्मीलाई खुशी पार्नको लागि माटोका विभिन्न खेलौना बनाएर त्यसको पूजा गर्ने परम्परा पनि नेवार समुदायमा रहिआएको छ । माटोका हात्ति, कछुवा, माछा, भगवानका मुर्तिहरु बनाएर विभिन्न चाडपर्वमा सेलाउने तथा देवीदेवताको प्रतीकको रुपमा चढाउने गरिन्छ ।

 

नेवार समुदायमा विस्तारै चलन फेरिदो अवस्थामा पनि नरहेके भने होइन । पहिले लक्ष्मीपूजाको दिन प्रयोग गरिने पाला त्यही दिन बनाएको, नपोलेको काँचो माटोको हुनुपर्दथ्यो । तर हिजोआज यो मान्यता कायम छैन । पहिला नै बनाएर राखीएका र पोलेका पालाहरु पनि लक्ष्मीपूजाको दिन प्रयोग हुन थालिसकेका छन् ।

नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास, साढे ३ वर्षमा निर्माण हुने Read Previous

नेपालकै पहिलो नागढुंगा–सिस्नेखोला सुरूङमार्गको शिलान्यास, साढे ३ वर्षमा निर्माण हुने

जुम्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन, अहिलेसम्मकै सबैभन्दा धेरै निर्यात Read Next

जुम्लामा १२ हजार मेट्रिक टन स्याउ उत्पादन, अहिलेसम्मकै सबैभन्दा धेरै निर्यात