कालीगण्डकी करिडोरको गैंडाकोट-राम्दी खण्डको काम अन्तिम चरणमा

कावासोती । राष्टिय गौरवको आयोजनाका रुपमा रहेको पूर्वी नवलपरासीको गैंडाकोटदेखि पाल्पाको रामपुर जोड्ने कालीगण्डकी करिडोरको निर्माण अन्तिम चरणमा पुगेको छ ।

करिडोरको १३२ किलोमिटर सडकको निर्माण सुरु भएको ६ वर्षमा सम्पन्न हुन लागेसँगै स्थानीयवासीमा खुसी छाएको बुलिङटारका होमराज रानाभाटले बताए।

पूर्वी नवलपरासीको गैँडाकोटबाट पाल्पाको राम्दी सम्मको १३२ किलोमिटर निर्माणको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सन प्रालिले ८० प्रतिशत काम सकेको र अब २० प्रतिशत काम आगामी वैशाखसम्म सक्ने गरी द्रुत गतिमा काम भइरहेको आयोजनाका इन्जिनियर हेमराज ओलीले बताए ।

४ वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको सो सडक आयोजना करिब ५ अर्ब ४७ करोडमा ठेक्कामा गएको थियो । ठेक्का पाएको भारतीय कम्पनी ईकेके कन्स्ट्रक्सन स्थानीय निर्माण व्यवसायीको प्रयोग गरी सो सडक निर्माण सुरु गरेको आयोजनाका ठेकेदार पक्षका साइड इन्चार्ज कपिल गौलीले बताए।

कोरोनाको उच्च जोखिमका कारण करिब एक वर्ष ढिला भएको सो सडक अहिले भने निर्माणले गति लिन थालेको छ । ५ अर्ब ४७ करोडको लागतमा निर्माण सुरु भएको कालीगण्डकी करिडोरको अहिले गैँडाकोटदेखि पाल्पाको राम्दीसम्म १३२ किलोमिटरको काम भएको र यसको ठेक्का पाएको भारतीय कम्पनी इकेके कन्स्ट्रक्सनले स्थानीय नेपाली ठेकेदार गौली ग्रुपलाई ठेक्का दिएको हो ।

आयोजनाको सडक ११ मिटरको चौडाइमध्ये सात मिटरमा कालोपत्र, एक–एक मिटरको किनारा र एक–एक मिटरको नाला हुुने गरी कालोपत्रको काम अन्तिम चरणमा पुुगेको छ ।

करिडोरको चार खण्डमध्ये गैँडाकोटको कालीगण्डकी चोकदेखि बुलिङटारको थामबेँसीसम्म, थामबेँसीदेखि भारतीपुर, भारतीपुरबाट भलायटार र भलायटारदेखि पाल्पा रामपुरको पीपलडाँडासम्म रहेको छ । २०७५ साल मङ्सिर १७ गतेदेखि सुरु गरिएको कालीगण्डकी करिडोरको निर्माण कार्य २०७८ मङ्सिर १६ भित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि कोरोनाले १ वर्ष धकेलिएको आयोजनाले जनाएको छ ।

करिडोरको १३२ किलोमिटरमध्ये अहिले ३९ पुल निर्माण कार्य सम्पन्न भएको छ भने हालसम्म ८० प्रतिशत काम सम्पन्न भएको सरकारका तर्फबाट सडक हेर्ने सव इन्जिनियर पदम अधिकारीले बताए ।रासस

काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन सुरू, साढे ३ वर्षमा सकिने Read Previous

काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन सुरू, साढे ३ वर्षमा सकिने

३ वाणिज्य बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ? Read Next

३ वाणिज्य बैंकको सेयर किन्दा अझै पाइन्छ लाभांश, कुनको कति ?