काठमाडौं । सेयर बजारमा चरम निराशा देखिएको छ । सरकारले पूँजी बजारमा रहेका विद्यमान समस्या समाधान तथा लगानीकर्ताहरु उत्साहित हुने खालका कुनैपनि कार्यक्रम तथा नीति नल्याउँदा लगानीकर्ताहरुको मनोवल पछिल्ला दिनहरुमा झनै गिर्दै गएको देखिन्छ ।
सूचक निरन्तर घटिरहेको बेलामा कारोबार रकम समेत ह्वात्तै घट्दा लगानीकर्ता झन निराश भएका छन् । औसतका करिब २५ करोडको कारोबार हुँदै आएको बजारमा दशैंपछिका दिनमा २० करोडभन्दा माथिको कारोबार हुन् सकेको छैन् ।
आइतबार करिब ११ करोडको कारोबार भएकोमा आज कारोबार रकमा भने केही बढोत्तरी भएको छ । सेयर बजार मापक सूचक नेप्से १.३३ अंकले बढेर ११३२.४० विन्दुमा आइपुगेको छ । आज १४५ कम्पनीको १६ करोड ४३ लाख ४९ हजार ५३६ रुपैयाँको कारोबार भएको छ । ६ लाख ८ हजार ६०१ कित्ता सेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १४५ कम्पनीमध्ये ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । ७० कम्पनीको सेयर मूल्य घटेको छ भने २८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका ११ वटा समूहमध्येमा ६ वटा समूहको सूचक सामान्य अंकले उकालो लागेका छन् भने ५ वटा समूहको सूचक ओरालो लागेका छन् । आज जीवन बीमा सूचक सबैभन्दा धेरै २२.०८ अंकले बढेको छ । वाणिज्य बैंक समूह पनि १.८८ अंकले घटेको छ ।
कारोबार रकमको आधारमा प्रभु बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १ करोड ८९लाख ३७ हजार ३६७ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा नेपाल बैंक र मेगा बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । नेपालको ७६ लाख र मेगाको ७० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज घोडाघोडी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८१ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको प्रमोटर सेयर को सेयर मूल्य सबैभन्दा धेरै ९.२८ प्रतिशतले घटेको छ ।