काठमाडौं । सर्वोच्च अदालतले नयाँ धितोपत्र दलाल (ब्रोकर) र स्टक एक्स्चेन्जको लाइसेन्स दिने दिने नियमावली संशोधन विरुद्ध परेको रिट खारेज गरेको छ ।
बुधबार न्यायाधीश हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराइ, अनिलकुमार सिन्हा र सपना प्रदान मल्लको पूर्ण इजलासले उक्त रिट खारेज गरेको हो।
अधिवक्ता अमृत खरेलले तत्काल नयाँ ब्रोकर, नयाँ स्टक र वस्तु विनियम बजारलाई लाइसेन्स दिने प्रक्रिया रोक्न माग गर्दै कात्तिक १६ गते सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
यसअघि परेको अर्को रिटमा सर्वोच्चले नेपाल धितोपत्र बोर्डलाई नयाँ स्टक एक्सचेन्ज,ब्रोकर कम्पनी र वस्तु विनिमय बजार सञ्चालनको लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ र धितोपत्र व्यवसायी नियमावली २०६४ संशोधन गरी नयाँ लाइसेन्स दिने प्रक्रिया सुरु गरेको थियो । त्यसका लागि धितोपत्र बोर्ड गत असोज २ गते आवेदन मागेको थियो । जसमा ब्रोकर लाइसेन्सका लागि एक सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।