काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एचआइडीसीएल, मितेरी डेभलपमेन्ट बैंक, प्राइम कमर्शियल बैंक र नेपाल बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन हो ।
चारै कम्पनीले साधरण सभा प्रयोजनका लागि पुस १४ गते बुकक्लोज तोकेको छन् । सो अनुसार आजसम्म कायम रहने सेयरधनी मात्र कम्पनीको लाभांश पाउने छन् ।
एचआइडीसीएलले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न एचआइडीसीएलले पुस २६ गते ११ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा अर्पण ब्यांक्वेट थापागाउँ काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।
त्यसैगरी, नेपाल बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
त्यस्तै, प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।।उक्त लाभांश पारित गर्न बैंकले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको कार्की ब्यांक्वेट, बवरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
त्यसैगरी, मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.३५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लभांश पारित गर्न बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा सुनसरी उद्योग वाणिज्य संघ, धरान १ सुनसरीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
चारै कम्पनीको साधरण सभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश पाउने छन् ।