काठमाडौं । २०७८ भदौमा ३१९९ विन्दुको रेकर्ड बनाएको नेप्से त्यसयता लगातार घट्दो क्रममा छ । १६ महिनाको अवधिमा नेप्से झन्डै १४०० अंकले घटेर १८०० विन्दुसम्म झर्यो । सेयर कर्जामा नेपाल राष्ट्र बैंकको कडाइ, बैंकिङ प्रणालीमा तरलता अभाव, ब्यादर वृद्धि, समग्र अर्थतन्त्रमा देखिएको संकुचन लगायत कारणले सेयर बजारमा गिरावट जारी छ ।
लामो समयदेखि घट्दो क्रममा रहेको सेयर बजारमा सोमबारदेखि भने उछाल आएको छ । संघीय संसदको निर्वाचनपछि बनेको नयाँ सरकारको अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै बजारमा उछाल आएको हो । दुई दिनमै नेप्से ११५ अंकले बढेको छ ।
अर्थ मन्त्रालयको बागडोर पौडेलले सम्हालेसँगै डेढ वर्ष यता घटिरहेको सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । पौडेलले पदभार सम्हाल्ने बित्तिकै सेयर बजार सुधारका लागि केही नीतिगत व्यवस्था नगरे पनि लगानीकर्ताको उनीप्रतिको विश्वास बढ्दा नेप्सेले छलाङ मारेको छ । यद्यपि, दुई दिनकै बढेकै आधारमा अब सेयर बजार बढ्छ भन्ने धारण बनाउन हुँदैन ।
संयोग नै भनौं यसअघि नेप्सले दुई पटक रेकर्ड बनाउँदा अर्थमन्त्री पौडेल नै थिए । जसकारण लगानीकर्तामा पौडेल अर्थमन्त्री बनेपछि नेप्सेमा सुधार आउँछ भन्ने मनोविज्ञान छ । पहिलोपटक २०७२ मा पौडेल अर्थमन्त्री बनेपछि नेप्सले २०७३ साउनमा १८८१ विन्दु चुम्दै सर्वाधिक उच्च विन्दुको रेकर्ड राखेको थियो । त्यसपछि २०७८ भदौमा ३१९९ विन्दुको रेकर्ड बनाउनु अघि पनि पौडेल नै अर्थमन्त्री थिए ।
नेप्सेले दुवै समय अल टाइम हाइको रेकर्ड बनाउँदा अर्थमन्त्री रहेका पौडेलप्रति लगानीकर्ताको सकारात्मक धारणा रहेको छ । पौडेलले अरु अर्थमन्त्री जस्तो सेयर बजारका बारेमा नकारात्मक टिप्पणी गरेका छैनन् । उनले अर्थमन्त्री भएका बेला सेयर बजारलाई कडाइभन्दा पनि खुकुलो नीति अपनाएका थिए जसकारण लगानीकर्ताले उनलाई सेयर बजारमैत्री अर्थमन्त्रीको रुपमा चिन्छन् ।
अर्थमन्त्री भएका बेला सेयर बजारलाई बाबुराम भट्टराईले जुवाको खाल, डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्र, जनार्दन शर्माले फुलेको बेलुन जस्ता अभिव्यक्ति दिएका थिए । लगानीकर्ताको नजरमा यी अर्थमन्त्रीहरु प्रति नकारात्मक धारण रहेको पाइन्छ ।
अब सेयर बजारले गति लेला ?
सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले ठूलो प्रभाव पार्दछ । सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले ठूलो प्रभाव पार्दछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएसँगै लगानीकर्ताको मनोबल उच्च देखिएको छ । उनले पूँजी बजारमा रहेका समस्या समाधान गर्नेमा लगानीकर्ता आशावादी छन् । जसले अब सेयर बजारले फेरि गति लिने उनीहरूको विश्वास छ ।
पौडेल कम्तीमा अबको २ वर्ष अर्थमन्त्रीको रुपमा रहने बताइएको छ । यद्यपि, नेपालको राजनीतिमा जति बेला जे पनि हुन सक्ने भएकाले भर भने छैन । यदि उनी अब २ वर्ष अर्थमन्त्री नै रहे भने बजारे फेरि नयाँ उचाइ लिने लगानीकर्ताहरू बताउँछन् । यसका लागि केही आधारहरू खडा हुँदै गएका छन् । तर, अब सेयर बजार बढ्छ नै भन्न सक्ने अवस्था भने छैन ।
नवनियुक्त सरकारले पनि पूँजी बजारको सुधारलाई प्राथमिकतामा राखेको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा सोमबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूँजी बजारमा आएको गिरावटलाई सम्बोधन गरी अर्थतन्त्रलाई गतिशील बनाउने निर्णय गरेको छ ।
साथै, ब्याजदर र तरलताको समस्या समाधान गर्ने निर्णय पनि गरेको छ । ब्याजदर र तरलताको चपेटामा परेको पूँजी बजारलाई सरकारको यस निर्णले केही आश्वासन मिलेको छ ।
सोमबारै अर्थ मन्त्रालयले बैंकहरूमा रहेको स्थानीय तहको पैसालाई निक्षेपमा गणना गर्न पाउने समयवधि थपेको छ । बैंकहरूले अब असारसम्म स्थानीय तहको खातामा भएको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् । माघदेखि ५० प्रतिशत मात्र निक्षेपमा गणना गर्न पाउने घोषणा गरिए पनि तरलता संकट झन् बढ्ने भन्दै अर्थमन्त्रालयले समय थप गरेको हो । यस व्यवस्थाले तरलता अवस्थामा केही सहजता आउने देखिन्छ ।
मंगलबार निजी क्षेत्रका व्यवसायीहरूसँग भएको भेटमा पनि अर्थमन्त्री पौडेलले पूँजी बजार सुधारको पहल गर्ने बताएका छन् । उनले यसका लागि नेपाल राष्ट्र बैंकसँग समन्वय गर्दै सार्थक पहल गर्न सक्छन् । नेकपा एमालेबाट अर्थमन्त्री बनेको पौडेल र गभर्नर महाप्रसाद अधिकारको ‘ट्युनिङ’ मिल्ने बताइन्छ । जसले अर्थमन्त्रालय र राष्ट्र बैंकको सम्बन्धमा केही सुधार ल्याउने अपेक्षा छ ।
गर्भनर अधिकारी तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीको पालमा नियुक्त भएका थिए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र गर्भनर अधिकारीको टसलको असर पूँजी बजारमा पनि परेको थियो । अब भने अर्थमन्त्रालयले गर्ने पूँजी बजार सम्बन्धी नीतिगत व्यवस्थामा राष्ट्र बैंकको पनि सहयोग हुने सम्भावना देखिन्छ ।
विकास निर्माणको सिजन सुरू भएकाले अब पूँजीगत खर्च बढ्ने आकलन गरिएको छ । पूँजीगत खर्च बढेमा बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जान्छ । तरलता सहज हुन थालेसँगै अचाक्ली रुपमा बढेको ब्याजदर केही घट्न सक्छ ।
ब्याजदर र सेयर बजारको सधैं ‘एन्टी रिलेसन’ हुन्छ । ब्याज बढ्दा बजार घट्ने र ब्याज घटे पूँजी बजार बढ्ने गर्छ । ब्याजदर घटाउन माग गर्दै व्यवसायीहरू आन्दोलनमा समेत उत्रिएका छन् । यदि, अब तरलता सहज हुँदै गएमा र राष्ट्र बैंकले ब्याजदर घटाउने नीति लिएमा सेयर बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । राष्ट्र बैंकले गत महिना मात्रै थोरै भए पनि नीतिगत दरहरु घटाउँदै ब्याजदर घटाउने संकेत दिएको छ ।
कोरोना कालयता शिथिल बनेको नेपालको अर्थतन्त्रमा भदौ यता केही सुधारोन्मुख अवस्थामा छ । यद्यपि, विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभावले आगामी दिनमा के हुन्छ भन्न सक्ने अवस्था छैन ।
विगतमा पनि पौडेलको पालमा पूँजी बजारमा नयाँ रेकर्ड बनेको र यसपाली पनि बन्ने लगानीकर्ताको अपेक्षा छ । पदभार सम्हालेसँगै उनले दिएको आश्वासनले लगानीकर्तालाई उत्साहित बनाएको छ । पौडेलको यो कार्यकालमा पनि नेप्सेले नयाँ रेकर्ड बनाउला वा विगतको रेकर्ड संयोग मात्रै सीमित होला त्यो भने भविष्यले नै बताउने छ ।