काठमाडौं । ट्राफिक जरिवाना तेब्बरसम्मले वृद्धि भएको छ । सडक अनुशासन उलंघन गर्ने क्रम बढेसँगै ट्राफिक प्रहरीले जरिवाना तेब्बरसम्मले बढाएको हो ।
यसअघि कारबाहीमा पर्दा ५०० रुपैयाँ जरिवाना गर्दै आएको १६ नियम उल्घंनमा लाग्ने जरिवाना १ हजार रुपैयाँले बढाएर १ हजार ५०० रुपैयाँ बनाइएको हो ।
सडक अनुशासन कायम गर्न ट्राफिक जरिवाना वृद्धि गरिएको हो । यातायात व्यवस्था विभागले कसुरका किसिम छुट्टाएर जरिवाना गर्न ट्राफिक प्रहरीलाई अख्तीयारी दिएको हुन्छ । सोही अनुसार पुस ३ गतेबाट जरिवाना वृद्धि गरिएको हो ।
कसुरलाई क, ख, ग, घ, ङ गरी पाँचखण्डमा छुट्टाएर जरिवाना गर्दै आएकोमा ‘ङ’ खण्डमा रहेको १६ गल्तीमा लाग्दै आएको जरिवाना ५ सयबाट बढाएर १ हजार ५०० बनाइएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।
अब यी गल्ती गरे १५०० सम्म जरिवाना लाग्ने
१. ट्राफिक बत्तीले रोक्न संकेत गरेकोमा नरोकेमा ।
२. सवारी अड्याउन वा राख्न निषेध गरिएको ठाउँमा वा समयमा सवारी अड्याएमा वा रोकेर राखेमा ।
३. सवारी मोड्न निषेध गरिएको ठाउँमा सवारी मोडेको ।
४. सडकमा गलत साईड तर्फबाट सवारी चलाएको ।
५. एकतर्फी सडकमा सो विपरित सवारी चलाएको ।
६. अवस्था ठीक नभएको सवारी चलाएको ।
७. राति बत्ति नबाली सवारी चलाएको ।
८. सवारी चलाउन निषेध गरिएको ठाउँमा वा समयमा सवारी चलाएको ।
९. नम्बर प्लेट नराखी सवारी चलाएको ।
१०. पेटी नबाँधी वा हेल्मेट नलगाई सवारी चलाएको ।
११. सार्वजनिक सवारीको चालकले यात्री लिन इन्कार गरेको ।
१२. लापरवाहीका साथ सवारी चलाएको ।
१३. सवारीको वजन हद निर्धारण क्षेत्रमा बढी वजनको सवारी चलाएको ।
१४. स.चा.अ.प., स.द.कि., स.इ.प.साथमा नराखी सवारी चलाएको ।
१५. ट्राफिक संकेत वा इशारा उल्लंघन गरी सवारी चलाएको ।
१६. ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा ध्वनि संकेत दिए ।