बैंकहरूले विदेशबाट ल्याए ६० अर्ब ऋण, वित्तीय प्रणालीमा कस्तो पर्छ असर ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विदेशी संस्थाहरूबाट ल्याउने ऋण बढ्दै गएको छ । वित्तीय प्रणालीमा भएको तरलता अभाव र राष्ट्र बैंकको खुकुलो नीतिका कारण बैंकहरूले ल्याउने विदेशी ऋण बढ्दै गएको हो ।

पछिल्लो ३ वर्षको अवधिमै बैंकहरू विदेशी बैंक तथा वित्तीय संस्थाबाट ऋण ल्याउने क्रम ४ गुणाले बढेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार सन् २०२० सम्म नेपाली बैंकहरूले जम्मा १४ अर्ब ८ करोड ऋण ल्याएका थिए । जबकी सन् २०२२ को अन्त्यसम्म आइपुग्दा त्यो ४ गुणाले बढेर ६० अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

वित्तीय प्रणालीमा चुलिएको तरलता अभावको समाधान गर्न राष्ट्र बैंकले २०७५ मा बैंकहरूलाई विदेशी ऋण ल्याउने बाटो खुला गरेको थियो । त्यसयता सो क्रम बढेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

बढ्यो आयात र व्यापार घाटाले विदेशी विनिमय संचिति घट्दै गएपछि भुक्तानी सन्तुलनमा थपेको चुनौती हालसम्म कायम छ । विदेशी मुद्राको स्रोतबाट प्राप्त हुने रकम घटेपछि सरकारदेखि राष्ट्र बैंकसम्म झस्किएको थियो ।

जसको कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेशी संस्थाहरूबाट ऋण ल्याएर विभिन्न क्षेत्रमा लगानी गर्न नीति प्रोत्साहन गरेको छ । तर, विदेशबाट डलरमा ल्याइने यस्तो रकमले दीर्घकालीन रूपमा अर्थतन्त्रमा जोखिम निम्त्याउन सक्ने वित्तीय क्षेत्रका जानकारहरू बताउँछन् ।
संस्थाहरूले विदेशबाट ल्याएको रकम लगानीका लागि राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ । विदेशी लगानी तथा ऋण विनियमावली २०७८ अनुसार बैंकहरूले विदेशबाट ऋण लिएर घरजग्गा कारोबार र सेयरमा लगानी गर्न पाउँदैनन् ।

यसैगरी, ब्याजदरको सीमा ४ प्रतिशतभन्दा बढी नभएको, भुक्तानी अवधि न्यूनतम १ वर्ष हुनुपर्ने व्यवस्थाहरू गरिएको छ ।

‘अनुत्पादक क्षेत्रमा लगानी भए जोखिम निम्त्याउँछ’

बाह्य देशबाट महंगो ऋणमा ल्याएको रकम अनुत्पादक क्षेत्रमा कर्जा लगानी हुँदा त्यसले समग्र अर्थतन्त्र र वित्तीय प्रणालीमा जोखिम निम्त्याउने जानकारहरू बताउँछन् । सोही कारण नियामकले संस्थाहरूलाई लगानीका लागि विभिन्न क्षेत्रहरू तोकेको छ ।

उत्पादनभन्दा भुक्तानी गर्नुपर्ने ब्याज र साँवाको हिस्सा बढी भएपछि यस्तो ऋण वित्तीय संकटको कारक बन्ने उनीहरूको भनाइ छ । राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री ऋणको लगानीभन्दा भुक्तानी ब्याज महंगो भए वित्तीय संकट ल्याउन पर्याप्त हुने बताउँछन् ।

‘बैंकहरूले लगानीभन्दा भुक्तानी गर्ने ब्याज कम तथा विदेशी मुद्रा सजिलै प्राप्त गर्न सकिन्छ भने त्यसले समस्या ल्याउँदैन’, उनी भन्छन्, ‘तिर्न समस्या हुने र महंगो ब्याज छ भने वित्तीय संकट आउने प्रक्रियामा यो नै पर्याप्त रहन्छ ।’

ऋण लिएर मागेको बेला राष्ट्र बैंकले पैसा दिन नसक्ने अवस्था आए त्यसले समस्या ल्याउने उनले बताए । नेपालका बैंकहरूले अहिले लिएको रकम थोरै भएकाले तिर्न खासै समस्या नपर्ने उनको विश्लेषण छ ।

विदेशी ऋण ल्याएर लगानी गर्ने भएकाले सो रकम तिर्न सरकारले पनि अनुमति दिने भएकाले भुक्तानीमा समस्या नपर्ने वित्तीय जानकारहरू बताउँछन् । विदेशी विनिमय संचिति तत्कालको लागि बढ्ने देखिए पनि लामो अवधिमा यसले अर्थतन्त्रमा समस्या निम्त्याउने राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् ।

‘बैंकहरूले ल्याउने बाह्य ऋणको चुनौती प्रतिफलभन्दा बढी छ,’ राष्ट्र बैंकका एक कार्यकारी निर्देशक भन्छन्, ‘एकैपटक फिर्ता गर्नु परेमा हाम्रो वित्तीय प्रणालीमै जोखिम निम्त्याउँछ । यो रकम बचतबाट घट्छ । जसले मुद्रा संचितिमा चाप पार्छ ।’

 

भन्सार घोषणा नभएका मोबाइल पुस १५ देखि नचल्ने, एमडीएमएस पूर्ण रूपमा लागू हुने Read Previous

भन्सार घोषणा नभएका मोबाइल पुस १५ देखि नचल्ने, एमडीएमएस पूर्ण रूपमा लागू हुने

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत Read Next

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत