काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । मंगलबार दोहोरो अंकले बढेको नेप्से आज ५ अंकले घटेको हो ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले घटेर ८६ करोडमा सीमित भएको छ ।
बुधबार नेप्से ५.८९ अंकले घटेर १८६७.२२ विन्दुमा आइपुगेको छ । यसदिन २५२ कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँ बढीको २४ लाख ४० हजार ३०७ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूह सबैभन्दा धेरै १.५० प्रतिशतले घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको पौने १२ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक झन्डै ४ करोड र शिवम् सिमेन्टको साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
सामान्य अंकले घटेको बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने श्रृजनशील लघुवित्त र इस्टर्न हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।