काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत २५ वाणिज्य बैंकमध्ये अब २ वटा बैंकको मात्र लाभांश घोषणा गर्न बाँकी छ ।
एनआइसी एशिया र कृषि विकास बैंकले मात्र अब लाभांश घोषणा गर्न बाँकी छ । आज (पुस ५ गते)सम्म आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २० वटा बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ३ वटा बैंकले लाभांश नदिने घोषणा गरेका छन् ।
गत वर्षको नाफाबाट लक्ष्मी, सनराइज र माछापुच्छे बैंकले लाभांश नदिने घोषणा गरेका हुन् । यी बैंकले गत वर्षको वितरणयोग्य नाफा सेयरधनीलाई नबाँडी संचित कोषमा राख्ने भएका हुन् ।
लाभांश घोषणा गरेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश नबिल बैंकले घोषणा गरेको छ । नबिलले गत वर्षको नाफाबाट ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
त्यस्तै, बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत र एभरेष्टल बैंकले २०.६८ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । गत वर्षको नाफाबाट सबैभन्दा कम सेञ्चुरी कमर्शियलले ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
बैंकहरूले प्रस्ताव गरेको नेपाल राष्ट्र बैंकले स्वीकृत तथा सम्बन्धित बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन् ।
लाभांश घोषणा गरेका २० वाणिज्य बैंकमध्ये १२ बैंकले साधरणसभा प्रयोजनाका लागि बुकक्लोज समेत गरिसकेका छन् । केही बैंकले साधारण सभा समेत सम्पन्न गरिसकेका छन् ।
दुई बैंकले सभा प्रयोजनका लागि बुकक्लोज मिति तोकेका छन् भने ६ बैंकको बुकक्लोज घोषणा हुन बाँकी छ । एनएमबी बैंकले पुस ११ गते र नेपाल एसबीआइले पुस १३ गते बुकक्लोज तोकेका छन् ।
हिमालयन, सिभिल, नेपाल, प्राइम, नबिल र सिद्धार्थको बुकक्लोज मिति घोषणा भएको छैन । तसर्थ, बुकक्लोज हुन बाँकी ८ बैंकको सेयर किन्दा अझै प्रस्तावित लाभांश पाइन्छ ।