काठमाडौं । केही वर्ष अघिसम्म अर्बौंको बिजुली आयात गर्दै आएको नेपाल अहिले अर्बौंको बिजुली निर्यात गर्ने मुलुक बनेको छ । नेपालबाट साढे ६ महिनामै ११ अर्ब रुपैयाँ बढीको बिजुली निर्यात भएको छ ।यो नेपालको बिजुली व्यापारमा नयाँ रेकर्ड समेत हो ।
नेपाल विद्युत् प्राधिकरणले गत जेठ १९ गतेदेखि पुस ३ गतेसम्मको अवधिमा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ बराबरको बिजुली बेचेको हो ।यस अवधिमा प्राधिकरणले नेपालमा उपभोग नभई खेर जाने १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट बिजुली निर्यात गरेको हो । प्राधिकरणले औसतमा प्रतियुनिय ८.२२ रुपैयाँमा बिजुली बेचेको हो ।
प्राधिकरणले चालु वर्षको भदौमा सबैभन्दा धेरै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । भदौमा देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यसैगरी, साउनमा २ अर्ब १ करोड ८४ लाख रुपैयाँ, असोजमा १ अर्ब ७५ करोड ३८ लाख, कात्तिकमा १ अर्ब १ अर्ब ३८ करोड ५५ लाख, मंसिरमा ४८ करोड ५ लाख रुपैयाँ बराबरको बिजुली बेचेको छ ।
यस्तै, पुसमा २८ लाख ५१ हजार, असारमा १ अर्ब ८६ करोड ८० लाख र जेठमा ८९ करोड ५४ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यस अवधिमा कुल ८ वटा आयोजनाको ४०९ मेगावाट बराबरको बिजुली निर्यात गरेको हो । प्राधिकरणले पहिलोपटक २०७८ कात्तिक (लक्ष्मीपूजा)को दिनदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु गरेको थियो।
यस वर्ष भने गत जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा निर्यात सुरु भएको थियो । हिउँदै लागेसँगै नदीमा पानीको बहाव कम हुँदा उत्पादन घटेकाले यस सातादेखि भने निर्यात रोकेको प्राधिकरणले जनाएको छ ।
हालसम्म भारत बिजुली विक्रीका लागि ८ जलविद्युत् आयोजनाले अनुमति पाएका छन् । यी आयोजनको कुल उत्पादन क्षमता ४०९ मेगावाट रहेको छ ।
प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७।७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट निर्यातका लागि अनुमति पाएका छन् ।
यसैगरी, लिखु–४ बाट उत्पादित ५१ मेगावाट, चिलिमे जलविद्युत्को २२ मेगावाट र २३.५ मेगावाटको सोलुखोला जलविद्युतबाट उत्पादित बिजुली भारतको डे अहेड मार्केट बेच्न सकिने भएको हो ।