काठमाडौं । नारायणी नदीमा सिग्नेचर पुल निर्माणमा निर्माण व्यवसायीहरूले चासो नदेखाएको पाइएको छ । सडक विभागले चितवनलाई नवलपरासीको गैंडाकोट जोड्न नारायणी नदीमा आधभधुनिक सिग्नेचर पुल निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । तर, तोकिएको समयभित्रै एउटै पनि कम्पनीले आवेदन गरेका छैनन् ।
सिग्नेचर पुल निर्माणका लागि आह्वान गरिएको ठेक्कामा कुनै पनि आवेदन नआएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका कम्प्यूटर इन्जिनीयर बिमलकुमार श्रेष्ठले बताए । उनका अनुसार अब यो सिग्नेचर पुल निर्माणका लागि पुनः ठेक्का आह्वान गरिने छ ।
‘सिग्नेचर पुल बनाउन भनेर टेन्डर खोलेका थियौँ, त्यसमा कसैको पनि आवेदन परेन, अब फेरि रिटेन्डर गरिन्छ, त्यसको तयारी भइरहेको छ,’ श्रेष्ठले चाणक्य पोष्टसँग भने ।
नारायणी नदीमा १ अर्ब ४७ करोड रुपैयाँको लागतमा सिग्नेचर ब्रिज निर्माण गर्न लागिएको हो । ५०० मिटर लामो यो पुल आकर्षक तथा कलात्मक हुने छ । पुल निर्माण गर्न नौलो प्रविधि तथा डिजाइन हुने प्राविधिकहरूले बताएका छन् ।
सिग्नेचर पुल निर्माणमा विश्व बैंकको ४ अर्ब सहयोग लगानी रहने छ । पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने सम्झौता भएको हो । सोही अनुसार नारायणीमा पहिलो सिग्नेचर पुल निर्माण हुन लागेको हो ।
वि.सं. २०३८ सालमा बनेको सो पुलको विकल्पका रुपमा सिग्नेचर पुल निर्माण गर्न लागिएको हो । सडक विभागको वैदेशिक महाशाखाले विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको छ । त्यसका लागि करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
सिग्नेचर पुल चार लेनको बनाउने योजना रहेको पुल महाशाखाले जनाएको छ । यस पुलको प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने छ।
पुलहरूमा रातको समयमा लाइट बाल्न मिल्ने गरी बत्ति जोडिने छ । यसले सहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुने अनुमान गरिएको छ ।सिग्नेचर पुल नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि छुट्टै प्रविधिबाट निर्माण हुने सडक विभागले जनाएको छ ।
महाशाखाले देशका विभिन्न १० वटा नदीमा अहिलेसम्मकै सबैभन्दा सुन्दर पुलहरू निर्माण गर्न लागेको हो । नारायणी नदीसँगै बुटवलको तिनाउ, सर्लाहीको बागमती, तनहुँको दमौली, पोखराको पृथ्वीचोक लगायतका ठाउँमा सिग्नेचर पुल निर्माण गर्ने तयारी गरिएको छ । देशका राजमार्गमा १ हजार ७०० पुल रहेका छन् ।