काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्डको आँबुखैरेनीमा सडक भासिएको छ । पृथ्वीराजमार्ग विस्तार अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानिखोला पुल नजिकैको सडक भासिएको हो ।
सडक भासिएपछि आज बिहान १० बजेदेखि सवारी आवतजावत अबरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । साना सवारीलाई वैकल्पिक सडकबाट आवतजावतको व्यवस्था गरिए पनि ठूला सवारी भने रोकिएका छन् ।
सडक भासिँदै सँगै रहेको पुलमा समेत क्षति पुगेको छ । अहिले सडक भासिएको ठाउँमा माटो हालेर खाल्डो पुर्ने काम भइरहेको प्रहरीले जनाएको छ । बाटो मर्मतपछि सवारीसाधन आवतजावत खुलाइने छ ।
सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सयौं सवारी साधान सडकमा अलपत्र परेका छन् ।