५ वर्षमा घरजग्गामा बैंकको लगानी ६९ प्रतिशतले बढ्यो, कति दिए ऋण ?

काठमाडौं । अनुत्पादक क्षेत्र भनिए पनि बैंक तथा वित्तीय संस्थाहरूको घरजग्गामा कर्जा लगानी वर्षेनी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा घरजग्गामा कर्जा लगानी ६९.३७ प्रतिशतले बढेको छ ।

यद्यपि, राष्ट्र बैंकको कडाइका कारण पछिल्लो १ वर्ष यता भने घरजग्गामा कर्जा लगानी केही सुस्त देखिएको छ । राष्ट्र बैंकको कडाइकै कारण गत चैत यता घरजग्ग कारोबार लगातार ओरालो लागिरहेको छ ।

राष्ट्र बैंकका अनुसार चालु वर्षको कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा (व्यक्तिगत घरकर्जा र रियल इस्टेट कर्जा गरी)मा ५ खर्ब ८१ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । यो बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जाको १२.२० प्रतिशत हो ।

बैंक तथा वित्तीय संस्थाहरूले ५ वर्षमा २ खर्ब ३७ अर्ब रुपैयाँले व्यक्तिगत घरजग्गामा कर्जा प्रवाह गरेका छन् ।आर्थिक वर्ष २०७४÷७५ सम्म बैंकहरुले घरजग्गामा ३ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । ५ वर्षको अवधिमा बैंकहरुको घरजग्गाका कर्जा लगानी औसतमा वार्षिक औसतमा ११ प्रतिशतले वृद्धि हुँदै गएको छ ।

संस्थाहरूले चालु वर्षको तीन महिनामा १५ अर्ब रुपैयाँ व्यक्तिगत आवास कर्जा र रियलस्टेट सेक्टरमा लगानी गरेका छन् । गत वर्ष मात्र १५ प्रतिशतले ऋण लगानी बढाएको तथ्यांकले देखाउँछ ।

घरजग्गाको लगानी अनुत्पादक भए पनि मूल्यवृद्धिका कारण छोटो समयमै विना जोखिम प्रतिफल आउने भएपछि बैंकहरूले रियल स्टेटको क्षेत्रमा लगानी गर्ने गरेका छन् । वित्तीय क्षेत्रका जानकारहरू भने जुनसुकै प्रयोजनका लागि ऋण लिँदा अचल सम्पत्ति घरजग्गा नै धितो राख्ने प्रचलन रहेकोले यसको नाममा कर्जा लगानी बढेको देखिएको बताउँछन् ।

जनसंख्यावृद्धि, सहरीकरण, आवास निर्माणमा भइरहेको वृद्धि र जग्गाको प्लटिङ गरेर कारोबार बढ्दा बैंकको लगानी सोही क्षेत्रमा डाइभर्ट भएको व्यवसायीहरू बताउँछन् ।

कृषि तथा अन्य क्षेत्रमा पनि संस्थाहरूको कर्जा लगानी राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा बढी नै छ । तर, त्यसअनुसार उत्पादन बढ्न सकेको देखिँदैन । जसको कारण कर्जाको दुरुपयोग भएर घरजग्गामा लगानी गएको विज्ञहरूको आकलन छ ।

वित्तीय प्रणालीमा तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले गत वर्षदेखि घरजग्गा कारोबारमा कडाइ गदै आएको छ । गत फागुनदेखि राष्ट्र बैंकले घरजग्गा तथा रियल स्टेट कर्जामा जोखीमभार शतप्रतिशतबाट बढाएर १५० प्रतिशत कायम गरेको थियो ।

यसैगरी, मौद्रिक नीति मार्फत जग्गाको धितो सुरक्षणको फेयर मार्केट भ्यालु बीचको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

जसको कारण बैंक तथा वित्तीय संस्थालाई यस क्षेत्रमा कर्जा लगानी गर्न राष्ट्र बैंकले ब्रेक लगाएको छ । यद्यपी, कारोबारमा गिरावट आउँदा पनि कर्जा लगानीको रेसियो भने रोकिएको छैन ।

कुन वर्ष कति दिए ऋण ?

५ वर्षको अवधिमा बैंकहरुले वार्षिक औसतमा ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक्ले देखाएको छ । गत वर्ष बैंकतथा वित्तीय संस्थाले घरजग्गामा ८४ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका थिए ।

त्यसैगरी, आव २०७७/७८ मा ६५ अर्ब ७७ करोड, २०७६/७७ मा ३१ अर्ब, २०७५/७६ मा ४१ अर्ब र २०७४/७५ मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिन्छ ।

 

६८३ मेगावाटको ‘सुनकोसी-तेस्रो’को ईआइए स्वीकृत, निर्माणको बाटो खुल्यो Read Previous

६८३ मेगावाटको ‘सुनकोसी-तेस्रो’को ईआइए स्वीकृत, निर्माणको बाटो खुल्यो

चितवनमा दुई चार्जिङ स्टेशन सञ्चालनमा, मुग्लिनमा अन्तिम चरणमा Read Next

चितवनमा दुई चार्जिङ स्टेशन सञ्चालनमा, मुग्लिनमा अन्तिम चरणमा