महानगर र स्थानीयले रोके धरहरा पुनर्निर्माण

काठमाडौं । ऐतिहासिक धरहरा पुनः निर्माणको काम रोकिएको छ । धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुने गरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिका र स्थानीयले धरहरा पुनः निर्माणको काम तत्कालका लागि रोकेका हुन् ।

कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनका अनुसार ऐतिहासिक महत्व बोकेको सुनधारामा पानी पठाउने काठको लामो पाइप नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर १ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्ने तयारी गरेको थियो । उक्त पाइपलाई नष्ट गरेपछि धरहरा पुनः निर्माणको बाँकी काम रोकिएको हो ।

अध्यक्ष महर्जनले भने, ‘धरहरा बनाउनेले सुनधारा बनाउँछन् भन्ने कुरामा विश्वास रहेन, अब विज्ञको रोहवरमा मात्र सुनधारा पुनःनिर्माणको काम अघि बढाउनुपर्छ ।’ त्यसका लागि हरेक दिन अनुगमन गर्ने गरी अनुगमन समिति बनाउने तयारी वडाको रहेको महर्जनले बताए ।

मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने अध्यक्ष महर्जनले जोड दिए । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षति पुगेको यस सम्पदाको भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको कामले गति लिएको हो । भूकम्पले ढलेको धरहरा पुनःनिर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत्रुपमा २०७५ पुस १२ गते थालनी गरेका थिए।

४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको, उचाइ ७२ मिटर र ४८ फिटको बेश रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत संरचना रहनेछन् । धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो । उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म उक्त टावर आसपासको अन्य निर्माणको काम सम्पन्न भएको छैन ।

कालिञ्चोक दर्शनको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

कालिञ्चोक दर्शनको आइपीओ भर्ने आज अन्तिम दिन

सवारीसाधन किन्न बैंकहरूले दिए डेढ खर्ब ऋण, कुनको ब्याजदर कति ? Read Next

सवारीसाधन किन्न बैंकहरूले दिए डेढ खर्ब ऋण, कुनको ब्याजदर कति ?