चक्रपथमा ७५ बिजुली बस चलाउने तयारी, सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढ्यो

काठमाडौं । लगानी बोर्डले काठमाडौं उपत्यकाको चक्रपथमा ७५ बिजुली बस सञ्चालमा ल्याउने तयारी गरिरहेको छ । २७.३० किलोमिटर लामो चक्रपथमा बिजुली बस गुडाउन अन्तिम सम्भाव्यता अध्ययनको तयारी गरेको हो ।

विद्युतीय बस चलाउन २० अर्ब लागतमा २७ स्टेसन, एक टर्मिनल र छुट्टै लेन निर्माणका लागि अध्ययन गर्न अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको थियो ।

बोर्डले सूचना जारी गर्दै सम्भाव्यता अध्ययन गर्ने इच्छुक संस्थाहरूलाई पुष ४ गतेसम्म प्रस्ताव पेस गर्न आह्वान गरेको थियो । बोर्डका प्रवक्ता अमृत लम्सालले स्वदेशी तथा विदेशी कम्पनी सहभागी हुन सक्ने गरी अन्तर्राष्ट्रिय प्रस्ताव आवहान गरिएको बताए । उनले हालसम्म फिजिकल्ली कुनै प्रस्ताव नआएकाले बोलपत्र आह्वान गरिएको बताए ।

‘पूर्वसम्भाव्यता अध्ययनले आयोजना बनाउन सक्ने देखाएपछि सम्भाव्यता अध्ययनको थप प्रक्रिया अघि बढाएका हौँ,’ लम्सालले चाणक्य पोष्टसँग भने, अहिलेसम्म फिजिकल्ली कुनै प्रस्ताव आएको छैन, पुष ४ सम्म बोलपत्रबाट कतिको प्रस्ताव आउछ त्यसै अनुसार प्रकृया अघि बढ्ने छ ।’

उनले अन्तिम सम्भाव्यता अध्ययन भएपछि आयोजना कुन मोडलमा निर्माण गर्ने बताउन सकिने बताए । अध्ययनपछि निजी–सरकारी साझेदारी (पीपीपी) मोडेलमा आयोजना निर्माण गर्न टेन्डर आह्वान गरिने उनले बताए ।

यसअघि २०१९ मा आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो । अन्तिम सम्भाव्यता अध्ययन गर्न कार्तिक अन्तिममा अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गरिएको थियो ।

पहिलो चरणमा लामो आकारका ७५ वटा बिजुली बस सञ्चालन गर्ने गरी २७ बस स्टेसन र एक टर्मिनल बनाउने योजना रहेको बोर्डले जनाएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्र के कति निर्माण गर्ने टुंगो लाग्ने लम्सालले बताए ।

उक्त आयोजना बनाउन १५ करोड ३० लाख डलर लागत अनुमान गरिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न भएपछि पीपीपी मोडलमा आयोजनाको निर्माण अघि बढाइने छ ।

आर्थिक वर्ष २०७१/७२ को बजेटमै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रुहरू अट्ने बस र्यापिड ट्रान्जिट (बीआरटी) योजनाको घोषणा गरिएको थियो । त्यसपछि ०७५ मा लगानी बोर्डले यो योजना अगाडि बढाएको थियो । २०१९ मा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना निर्माण र सञ्चालन गर्न ४ लगानी प्रस्ताव आएका थिए ।

दैनिक २ लाख यात्रुले सेवा लिने

चक्रपथमा बिजुली बस संचालनमा ल्याएपछि दैनिक साढे २ लाख यात्रुले सेवा लिने बताइएको छ । बोर्डले २०१९ मा गरेको पूर्वसम्भाव्यता अनुसार यसमा दैनिक बढीमा २ लाख ४० हजार यात्रुले सेवा लिन सक्नेछन । न्यूनतम भने १ लाख ५४ हजार यात्रु पाइने बोर्डको भनाइ छ । २०२९ सम्म भने दैनिक अधिकतम ३ लाख ८ हजार र न्यूनतम १ लाख ७० हजार यात्रु हुने बोर्डको अनुमान छ ।

 

 

धेरै कर तिर्नेले विद्युतीय चुलो पाउँदै Read Previous

धेरै कर तिर्नेले विद्युतीय चुलो पाउँदै

अपर तामाकोशीको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त Read Next

अपर तामाकोशीको हकप्रद प्रक्रिया अघि बढ्यो, विक्री प्रबन्धक नियुक्त