काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । अघिल्ला दुई दिनमै ५५ अंकले घटेको नेप्से आज दोहोरो अंकले बढेको हो ।
सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २६ करोडले बढेर सवा १ अर्ब नाघेको छ ।
मंगलबार नेप्से १६.९६ अंकले बढेर १९०२.२७ विन्दुमा पुगेको छ । यसदिन २४५ कम्पनीको १ अर्ब ३६ करोड रुपैयाँ बढीको ४४ लाख ७० हजार ६२५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये बैंकिङ बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । अन्य समूह सबैभन्दा धेरै ६.१४ प्रतिशतले बढेको छ ।
आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको २१ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको प्रमोटर सेयर झन्डै ११ करोड र शिवम् सिमेन्ट ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समिटि लघुवित्त र सीवाइर्सी लघुवित्तका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
त्यसैगरी, नेपाल टेलिकम ७.४६, आदर्श लघुवित्त र धौलागिरी लघुवित्त ६.०८, ग्रीन डेभलपमेन्ट बैंक ५.५८, ग्रीन भेन्चर्स ५.२८, गणपति माइक्रोफाइनान्स ५.२८, प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ५.११ प्रतिशतले बढेको छ ।