वितरणयोग्य नाफा १.२५ अर्ब भए पनि लक्ष्मी बैंकले लाभांश नदिनुको यस्तो छ कारण

काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक संचालक समितिको मंसिर २५ गते बिहान बसेको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

बैंकले गत वर्षको वितरणयोग्य मुनाफालाई संचितिमा राख्ने प्रस्ताव गरेको छ । बैंकले सेयरधनीलाई लाभांश नदिनुको कारण नबताए पनि राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा नगर्दा लाभांश बाँड्न नमिल्ने भएको हो ।

लक्ष्मीले गत वर्ष राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न सकेको थिएन । बैंकले लाभांश घोषणा गरे पनि राष्ट्र बैंकले अस्वीकृत गर्ने देखिएपछि लाभांश वितरण नगरी बाँड्न मिल्ने रकम रिटेन्ड अर्निङमा राख्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्षको कुनै एक महिना पनि पूँजीकोष अनुपात कायम नगरे सो आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नपाउने व्यवस्था छ ।

राष्ट्र बैंकको व्यवस्था अनुसार प्राथमिक पूँजीकोष न्यूनतम ८.५० प्रतिशत हुनुपर्छ। तर, लक्ष्मी बैंकको गत भदौमा प्राथमिक पूँजीकोष अनुपात ८.४८ प्रतिशत मात्र थियो ।

गत आर्थिक वर्ष २०७८७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लक्ष्मी बैंकका वितरण योग्य नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । त्यसबाट बैंकले १० प्रतिशत लाभांश दिन सक्ने क्षमता राख्दछ ।

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, खेतीप्रति किसान आकर्षित Read Previous

गुल्मीको कफी जापान र फ्रान्स निर्यात, खेतीप्रति किसान आकर्षित

'वित्तीय कारोबार गर्ने सहकारीलाई छुट्टै ऐन आवश्यक’ Read Next

'वित्तीय कारोबार गर्ने सहकारीलाई छुट्टै ऐन आवश्यक’