काठमाडौं । उत्तर–दक्षिण व्यापारिक राजमार्ग विस्तार अन्तर्गत विराटनगरको रानीदेखि धरानसम्मको सडक ६ लेनमा विस्तार गर्ने काम कछुवाको गतिमा छ । सडक विस्तार सुरू गरिएको १० वर्ष बितिसक्दा समेत काम पूरा हुन नसकेको हो ।
आर्थिक वर्ष २०७५/७६ भित्र सक्ने लक्ष्य रहेको सो सडक विस्तारको काम अझै एकतिहाई बढी बाँकी रहेको छ । हालसम्म आयोजनको करिब ७० प्रतिशत मात्र काम पूरा भएको छ ।
कुल ४९ किलोमिटर सकड मध्ये हालसम्म ३६ किलोमिटर सडक मात्र ६ लेनमा विस्तार भएको छ । हाल धरानको तीनकुनेदेखि इटहरीको टरहरासम्म १२ किलोमिटर सडक विस्तारको काम भइरहेको आयोजना प्रमुख दानकुमार शाक्यले बताए ।
उनका अनुसार अन्य खण्डमा साना कामहरू भइरहेको छ । उनले चालु आर्थिक वर्षमा सडक निर्माण पूरा नभए आयोजनालाई डिभिजन कार्यालयलाई सुम्पिने योजना रहेको बताए ।
‘धरानको तीनकुनेदेखि तरहरासम्म काम भइरहेको छ, अरु ठाउँमा फाटफुट काम चलिरहेको छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ‘यो वर्ष निर्माण पूरा भएन भने यो आयोजना नै बन्द हुन्छ, सायद डिभिजने पाउँछ होला ।’
सुनसरीको दुहबी बजारमा मापदण्ड अनुसार जग्गा नपाएपछि सडक विस्तारले गति लिन सकेको छैन । रानीदेखि इटहरी–आँपगाछीसम्म ३० देखि ५० मिटर चौडाइको मापदण्ड कायम गरिएको छ । रानी–दुहबी सडक ३० मिटर चौडा कायम गरिएको छ भने दुहबीबाट उत्तर इटहरी–आँपगाछी क्षेत्रमा ५० मिटर कायम गरिएको छ । मापदण्डमा एकरुपता नहुँदा पनि सडक विस्तारको काममा विवाद निस्केको हो ।
आर्थिक वर्ष २०७५/७६ भित्र सकिनुपर्ने यो आयोजना निर्माण सुरू भएको १० वर्ष बितिसक्दा समेत हुन सकेको छैन । ५ अर्ब ४ करोड ६१ हजार लागतको रानी–धरान आयोजनाको अझै पूरा हुन नसकेको हो ।
रानी–इँटहरी–धरान ४९ किलोमिटर ६ लेनमा विस्तार गर्न लागिएको हो । ०६८÷६९ बाट सुरू भएको यो सडक विस्तार परियोजनाको काम अहिलेसम्म ६० देखि ७० प्रतिशत हाराहारीमा विस्तार भएको छ ।