अघि बढ्न सकेन कालीगण्डकीमा पक्की पुल निर्माण

काठमाडौं । गुल्मी र पर्वत जोड्ने पक्की पुलको निर्माणको काम विगत छ वर्षदेखि अघि बढन सकेको छैन । गुल्मीको कालीगण्डकी गाउँपालिकाको पूर्तिघाट र पर्वतको बिहादी गाउँपालिकाको रानीपानी जोड्ने गरी निर्माण थालिएको पक्की पुलको काम अगाडि बढन नसकेको हो ।

तत्कालीन तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७३ भदौ ३१ मा सम्झौता भई निर्माण सुरु भए पनि काम हुन सकेन ।

कूल रु १४ करोड ६७ लाखमा पक्की पुल बनाउने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार पक्की पुलको निर्माण २०७६ चैत ३० मा सम्पन्न हुनुपर्ने हो तर, अहिले सम्झौता भएको तम्घास–सिमलटारी–प्युठान सडक आयोजना गुल्मी खारेज भएको छ ।

अहिले मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीले यो आयोजना हेर्ने गरेको छ । निर्माण कम्पनीका सम्पर्क व्यक्ति सुरेन्द्र लम्सालले भूगोलका कारण समयमै काम सम्पन्न गर्न नसकेको बताउनुभएको छ । ‘भुगोलका कारण निर्माण सामग्री निर्माणस्थलसम्म लैजान पनि समस्या भइरहेको छ’, उनले भने, ‘कालीगण्डकी नदीको बहाव बढ्ने भएकाले वार्षिकरुपमा तीन महिना मात्र काम गर्नुपर्ने अवस्था छ ।’ पछिल्लो तोकिएको समय अवधिसम्म काम सक्ने गरी आफूहरु लागिरहेको उनको दाबी छ ।

मदन भण्डारी राजमार्ग आयोजना योजना कार्यालय तम्घास गुल्मीका सूचना अधिकारी वीरेन्द्रप्रकाश तेलीले पनि कालीगण्डकी पुलको निर्माण कार्यमा ढिलाइ भएको बताए ।

उनले नदीमा पानीको बहाव बढी हुने र एक वर्षमा करिब तीन महिना मात्र काम गर्न सकिने भएकाले समयमै काम गर्न निर्माण व्यवसायीले नसकेको बताए । बीचमा कोभिडका कारणले समेत समस्या भएकाले निर्माण व्यवसायीलाई पनि दबाब दिन नसिकएको सूचना अधिकारी तेलीले स्पष्ट पारे ।

सार्वजनिक खरिद नियमावलीको १२ औँ संशोधन अनुसार २०८० असार मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले उक्त अवधिसम्म कार्य सम्पन्न गर्नका लागि कार्यालयको ताकेता गरिरहेको छ ।

पुल समयमा निर्माण नहुँदा पूर्तिघाट र रानीपानीका स्थानीयलाई आवतजावतमा सास्ती भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले आफूहरुको बारम्बारको ताकेताले अहिले निर्माण व्यवसायीले केही चासो देखाएको बताए ।

कालीगण्डकी नदीको बहाव वर्षायामअगावै नबढेमा पक्की पुलको आधार निर्माण गर्ने निर्माण व्यवसायीले प्रतिबद्धता गरेको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए ।

बीओके गाभ्न ग्लोबलको अन्तिम स्वीकृति, लाभांश प्रस्ताव पारित Read Previous

बीओके गाभ्न ग्लोबलको अन्तिम स्वीकृति, लाभांश प्रस्ताव पारित

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त Read Next

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त