काठमाडौं । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाईओभर निर्माणका लागि आजबाट निर्माण व्यवसायी फिल्डमा मोबीलाइज भएका छन् । शुक्रबारदेखि फ्लाईओभर निर्माणका लागि डाइभर्सनको काम गरिने सडक विभाग अन्तर्गतको गुणस्तर तथा अनुसन्धान केन्द्रका सिनियर डिभिजन इन्जीनीयर सौरभ बज्रचार्यले जानकारी दिए ।
उनका अनुसार फिल्डमा फ्लाईओभर निर्माणका लागि खन्ने काम सुरु हुन अझै १ महिना हाराहारी समय लाग्ने छ । निर्माणका लागि सुरुमा सवारीसाधन डाइभर्सनको काम गर्नुपर्ने उनले बताए ।
‘डाइभर्सन गर्नका लागि बीचको मिडिएर फुटाउनु पर्ने छ, त्यसको काम सुरु गन्छि, साइनबोर्डहरु राखेर निर्माण गर्ने ठाउँमा जस्ताले बेर्ने काम सुरु गर्न लागेको हो, बज्रचार्यले भने ‘सडक खनेर, ठूला उपकरण ल्याएर निर्माणको काम सुरु गर्न अझै १ महिना जति लाग्छ ।’
ग्वार्को फ्लाई ओभरको निर्माण सुरु हुने दिनदेखि उक्त खण्डमा सञ्चालन हुने सवारी साधनको रुटमा केही परिवर्तन आउने भएको छ । निर्माण नसकिएसम्म कोटेश्वरबाट सातदोबाटोतर्फ जाने आउने यात्रुबाहक, माहलबाहक तथा दुईपांग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा पठाइने व्यवस्था गरिने भएको छ । साना चारपांग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट चलाइने व्यवस्था गरिदै छ ।
देशकै पहिलो फ्लाइओभर (ग्रेट सेप्रेटेड इन्टरसेक्सन) निर्माणको जिम्मा एमरएस आशिष–समानान्तर (जेभी)ले पाएको छ । ६ मिटर उचाई हुने फ्लाइ ओभरलाई अन्तराष्ट्रिय मापदण्डअनुसार निर्माण गरिनेछ ।
कुल ४५५ मिटरको लम्बई हुने फ्लाइ ओभरमा ग्राउण्ड क्लियरेन्स ६ मिटर हुनेछ भने फ्लाइ ओभरमा सवारी साधन चढ्नका लागि १८० मिटर दाँयातर्फ र ११० मिटर बाँयातर्फ ¥याम्प निर्माण गरिनेछ ।
यो फ्लाई ओभर १७ करोड ६८ लाख ८८ हजार ८०८ रुपैयाँ लगानीमा फ्लाइ ओभर निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको छ । यो फ्लाईओभर २ वर्षभित्र निर्माण सम्पन्न हुने गरि निर्माण सुरु गर्न लागिएको हो ।
यसैगरी ललितपुरको सातदोबाटो र एकान्तकुनामा फ्लाई ओभर बनाउन अन्तिम डिजाइन (फाइनल डिजाइन)को काम भइरहेको छ ।
४ लेनको बन्ने यी फ्लाई ओभरको अन्तिम डिजाइन पुरा भएलगतै सो फ्लाई ओभरहरुको समेत ठेक्का आवहान गरिने विभागले जनाएको छ । सडक विभागले जनाएको छ ।