काठमाडौं । सुपर माइ हाइड्रोपावर लिमिटेडले आज (बिहान १० बजे)देखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका वासिन्दालाई प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आइपीओ निष्काशन गरेको छ ।
सोमध्ये आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका वडा नं. ५, २ र माइजोगमाइ गाउँपालिकाको वडा नं. ५ का स्थानीय बासिन्दाहरुको लागि २ कित्ता र आयोजना अति प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाबासीका लागि ३ लाख कित्ता निष्काशन गरेको छ ।
त्यसैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि ५० लाख रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर विक्रीमा ल्याएको छ ।
कम्पनीको आइपीओमा स्थानीयले पुस ६ गतेसम्म आवेदन दिन पाउने छन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन पाउने छन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले पुस ६ गतेसम्म आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सयरका लागि आवेदन दिन पाउने छन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स पूकाशपथ, माछापुच्छ्रे बैंक चोकबजार, सानिमा बैंक भानुपथ र शितेली शाखा र सुपरमाइ हाइड्रोपावरको कार्यालय आरबोटेबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयका साथै मेरो सेयरबाट आवेदन दिन सक्ने छन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आइआर ट्रिपल बी माइनस रेटिङ’ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।