काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)ले दुई लघुवित्तको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सले मङ्सिर २० गते नाडेप लघुवित्त र नेशनल माइक्रोफाइनान्सको साधारण सेयर कारोबार फुकुवा गरेको हो ।
कारोबार फकुवा भएसँगै बुधबारदेखि दुवै लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, दुवै कम्पनीको संस्थापक सेयर भने रोक्का नै रहने छ ।
नेप्सेले गत महिना नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम दुवै कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो । उक्त निर्देशिका अनुसार मर्जर तथा प्राप्तिमा जाने कम्पनीको सेयर बढीमा १५ दिन मात्रै कारोबार रोक्का हुने व्यवस्था छ ।
नाडेप लघुवित्तको सेयर कारोबार झन्डै २ वर्षपछि फुकुवा भएको हो । नाडेपले डिप्रोक्स लघुवित्तसँग मर्जर सम्झौता गरे पनि बीचमै भाँडिएको थियो ।
नेशनल माइक्रोफाइनान्स हाल लघुवित्तसँग मर्जर प्रक्रियामा रहेको छ ।