छैन कर्जाको माग : बैंकमा पैसा थुप्रिँदै, व्यवसायी ब्याज घट्ने आशमा पर्खिँदै

काठमाडौं । ब्याजदर बढ्दा बैंकहरूको कर्जा लगानी ठप्पप्रायः भएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गए पनि महँगो ब्याजका कारण व्यवसायीले ऋण लिन छाडेपछि पैसा बैंकमै थुप्रिन थालेको हो ।

बैंकहरूसँग अहिले करिब १ खर्ब रुपैयाँ लागनी योग्य रकम रहेको बैंकरहरू बताउँछन् । नेपाल राष्ट्र बैंककै तथ्यांक अनुसार बैंकहरूको कर्जा निक्षेप (सीडी) अनुपात राष्ट्र बैंकले तोकेको सीमाभन्दा ३ प्रतिशत कम अर्थात् ८७ प्रतिशतभन्दा तल छ । यसले पनि बैंकहरूसँग लगानी योग्य रकम रहेको देखाउँछ ।

तर, ब्याजदर महँगो भएकाले व्यवसायीहरूले बैंकबाट ऋण लिने हिम्मत गरेका छैनन् । उद्योगी व्यवसायीले महँगो ब्याजमा ऋण लिएर उद्योग चलाउन नसक्ने भन्दै आफ्ना नयाँ आयोजनाहरू नै स्थगित गरेका छन् ।

एकातिर बैंकहरूसँग पैसा भएर पनि माग नहुँदा कर्जा लगानी हुन सकेको छैन भने अर्कोतिर उद्योग, व्यवसाय क्षेत्र सुस्ताउँदै गएको छ । समग्र अर्थतन्त्रलाई नै शिथिल बनाउँदै लगेको छ ।

पछिल्लो समय बैंकसँग पैसा भए पनि कर्जाको खासै माग नभएको बैंकरहरू बताउँछन् । गत वर्षदेखि चरम तरलता अभाव झेलिरहेका बैंकहरूले अहिले तरलता सहज हुँदा समेत कर्जा माग नभएकाले कर्जा लगानी गर्न सकेका छैनन् । जसले बैंकको व्यवसायमै धक्का पुग्ने देखिन्छ ।

अर्कोतिर, ब्याजदर महँगो भएकाले बैंकबाट ऋण लिएर लगानी गर्न सक्ने अवस्था नरहेको उद्योगीहरूको भनाइ छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल बैंकको अत्यधिक ब्याजदर वृद्धिका कारण ऋण लिन मात्र नभएर ब्याज तिर्नकै लागि समेत समस्या भएको बताउँछन् ।

‘लगातार ब्याजदरमा भइरहेको वृद्धिले व्यवसायी समस्यामा छन्,’ उनले भने, ‘जसको कारण नयाँ व्यवसाय गर्न ऋण लिने भन्दा पनि ब्याज तिनै सकस भइरहेको छ ।’ बैंकले लिइरहेको प्रिमियमले ब्याजदर एकैपटक उच्च अंकले बढेको छ । जसको असर समग्र आर्थिक क्षेत्र र मागमा परेको उनले बताए ।

बैंकको व्यवसायमा धक्का

प्रणालीमा पैसा भएर पनि कर्जा लगानी गर्न नसकेपछि बैंकको व्यवसायमै धक्का लाग्ने बैंकरहरू बताउँछन् । व्यवसाय विस्तार नभए पनि बैंकहरूले निक्षेपको ब्याज तिर्नुपर्ने, प्रसाशनिक खर्च व्यहोनुपर्ने भएकाले नाफा समेत खुम्चने उनीहरूको भनाइ छ ।

अहिले लगानी योग्य स्रोत हुँदा भएर पनि माग नहुँदा परिचालन हुन नसकेको बैंकरहरू बताउँछन् । ‘प्रणालीमा तरलता हुँदा माग नहुने र माग हुँदा स्रोत नहुने प्रवृत्ति छ,’ एक वाणिज्य बैंकका सीईओ भन्छन्, ‘आजको दिनमा सबै कर्जा दिन सक्ने अवस्थामा छन् जस्तो लाग्छ । उद्योग, व्यवसाय, अटो र रियल स्टेटमा लगानीको माग छैन । त्यसकारण भएको रकम पनि प्रणालीमै बसेको छ ।’

रकम लगानी गर्न नसक्दा संस्थाहरूको नाफामा समेत असर पर्ने देखिएको उनी बताउँछन् । अहिले व्यवसायीलाई कर्जाको आवश्यकता भए पनि ब्याजदर महँगो भएका भन्दै नयाँ ऋण लिएका छैनन् । व्यवसायी अहिले उद्योग, व्यवसायमा लगानी गर्न थाँति राखेर ब्याजदर घटाउन माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।

राष्ट्र बैंकको ब्याजदर र अन्य नीति विरुद्ध व्यवसायीहरू आन्दोलनमा छन् । जसको असर लगानीमा देखिएको छ । तरलता समस्या बढ्दै गएपछि राष्ट्र बैंकले मौद्रिक समीक्षा मार्फत केही लचकता अपनाएको छ । तर, तरलतामा सहज भएपनि कर्जाको माग भने छैन ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्म आयातमा भएको उल्लेख्य वृद्धि र अत्याधिक ऋण माग हुँदा संस्थाहरूले आक्रामक कर्जा लगानी गरेका थिए । त्यसयता सरकारले आयातमा गरेको कडाइले उपभोग कर्जा बढ्न सकेको छैन भने सेयर बजारमा आएको गरावटले मार्जिन लोन बढेको देखिँदैन ।

गाडी आयातमा प्रतिबन्ध छ भने घरजग्गा कारोबारमा मन्दी आएको छ । पछिल्लो आधा दशक यताकै उच्च मूल्यवृद्धिले निर्माण क्षेत्र सुस्त छ । जसको कारण अटोलोन, होमलोन, रियल स्टेट जस्ता अत्यधिक कर्जा माग हुने क्षेत्र ठप्पप्रायः हुँदा बैंक तथा वित्तीय संस्थाले लगानी गर्न सकेका छैनन् ।

राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको साढे चार महिनामा वित्तीय संस्थाहरूले करिब ६० अर्ब हाराहारीम मात्रै कर्जा लगानी गरेका छन् । जबकी गत वर्ष सोही अवधिमा साढे ४ खर्ब बढी कर्जा लगानी गरेका थिए ।

एकातिर तरलता अभाव र अर्कोतर्फ माग संकूचनले कर्जा लगानी ठप्पप्रायः भएको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले चालु् आवमा साढे १२ प्रतिशतले कर्जा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ । जुन अघिल्लो आवको तुलनामा साढे ६ प्रतिशतले कमी हो । गत वर्ष बैंकहरूको कर्जा लगानी १५ प्रतिशतमा सिमित भएको थियो ।

यस वर्ष भने सो लक्ष्य समेत पूरा नहुने बैंकरको भनाइ छ । राष्ट्र बैंकको तरलता प्रवाह संकुचन  नीतिले बैंकहरूले लगानी बढाउन नसक्ने अवस्था देखिएको छ । गत बुधबारसम्म ५१ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन पुगेको छ भने ४७ खर्ब ६० अर्ब कर्जा लगानी पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

 

 

बजेट निर्माणमा जुट्यो योजना आयोग, समपूरक र विशेष अनुदान लिन स्थानीय तहसँग प्रस्ताव माग Read Previous

बजेट निर्माणमा जुट्यो योजना आयोग, समपूरक र विशेष अनुदान लिन स्थानीय तहसँग प्रस्ताव माग

चौधरी ग्रुपको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू Read Next

चौधरी ग्रुपको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरू