संकटमा सिमेन्ट र डण्डी उद्योग, धमाधम बन्द हुन थाले

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन् । उत्पादित वस्तुको मागमा कमी आउँदा सिमेन्ट, डण्डी, इँटा लगायत उद्योगहरू संकटमा पर्न थालेका हुन् ।

पूर्वाधार निर्माणको सिजन सुरू भए पनि बजारमा माग सिमेन्ट र डण्डीको माग बढ्न सकेको छैन । बैंक तथा वित्तीय संस्थामा भएको तरलता अभावका कारण सहजै ऋण पाउने अवस्था छैन । जसकारण व्यक्तिगत घर निर्माण सुस्त भएको छ । त्यस्तै, सरकारी पूर्वाधार योजनाहरूले पनि गति नलिँदा बजारमा सिमेन्ट र डण्डीको माग घटेको छ ।

मागमा गिरावट आउनु र उत्पादन भएको वस्तु समेत नबिकेपछि डण्डी र सिमेन्ट उद्योगहरू धमाधम बन्द हुन् थालेका छन् । संचालनमा रहेका उद्योगले पनि ठूलो मात्रमा उत्पादन कटौती गरेका छन् ।

मागमा भएको संकुचनले उत्पादन घटाएको नेपाल उद्योग वाणिज्य महासंघका अधिकारीहरू बताउँछन् । ‘निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड, लगायतका उद्योगहरू औषत ३० प्रतिशत क्षमतामा चलिरहेका छन,’ महासंघका अध्यक्ष शेखर गोल्छाले भने, ‘दैनिक उपभोग्य सामानहरूको विक्री १८ प्रतिशतले घटेको छ । मागमा आएको संकुचनले समग्र व्यवसायदेखि राजस्व समेत प्रभावित भएको छ ।’

आधा दर्जन स्टील उद्योग बन्द

रोलिङ व्यवसायीहरूका अनुसार दर्ता भएका तीन दर्जन उद्योगहरू मध्ये एकदर्जन उद्योगको उत्पादन रोकिएको छ भने आधा दर्जन बन्द भएका छन ।

नेपाल स्टिल रोलिङ मिल एशोसिएसनका अनुसार आधा दर्जन डण्डी उद्योग बन्द भएका छन् । एस आर स्टील, विनायक स्पात, रत्न आइरन, गोयल स्पात, आरती स्टील र शालीमार स्टील उद्योग बन्द भएको एशोसिएसनले जनाएको छ । यस्तै, एभरेष्ट रोलिङ, पञ्चकन्या, काठमाडौं, विजय, गोदावरी, हिमाल स्टील लगायत झन्डै १ दर्जन उद्योगले उत्पादन रोकेका छन् ।

संचालनमा रहेका अन्य उद्योगहरूले पनि ठूलो मात्रमा उत्पादन कटौती गरेका छन् । मुस्किलले क्षमताको एकतिहाई मात्र उत्पादन गरिरहेको एशोसिएसनले जनाएको छ ।

नेपालमा वार्षिक १० देखि १५ लाख मेट्रिकटन डण्डी खपत हुँदै आएको छ भने उद्योगहरूको उत्पादन क्षमता करिब ४५ लाख मेट्रिकटन रहेको छ । हाल नेपालमा ३२ वटा डण्डी उद्योग रहेका छन् ।

सिमेन्ट उत्पादनमा भारी गिरावट

उत्पादन क्षेत्रका उद्योगहरूमा संकट आउनुको मुख्य कारण भनेको अर्थतन्त्रमा देखिएको संकट भएको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष धुव्र थापा बताउँछन् ।

‘निर्माण क्षेत्रका लागि यो मंसिर सिमेन्ट खपतको राम्रो सिजन हो । अहिले माग छैन, माग नभएपछि उत्पादन बढ्न सक्ने कुरै भएन,’ उनले भने, ‘निकासीमा पनि समस्या छ, आन्तरिक मग घटेकाले २५ प्रतिशत पनि खपत भइरहेको छैन भने क्षमताको ३० प्रतिशत मात्र उद्योगले उत्पादन गरिरहेका छन ।’

सरकारले चालु वर्षको बजेट मार्फत निर्यात सम्भावना भएका वस्तुहरूमा ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ । त्यसयता केही सिमेन्ट उद्योगहरूले निर्यात सुरू गरेपनि प्रक्रियागत समस्याहरूले बढाउन सकेका छैनन् ।

दसैंपछि हिउँद याम सुरू हुनुका साथै आयोजनाको ठेक्का प्रक्रिया टुंगिएर निर्माण सुरू हुने भएकाले सिमेन्ट, छड लगायत निर्माण सामग्रीहरूको माग बढ्ने गरेको छ । यस वर्ष भने आर्थिक संकटले माग संकुचन गरेको छ ।

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Previous

नेप्सेमा झिनो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी

छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार ! Read Next

छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार !