काठमाडौं । काठमाडौं उपत्यकाका संचालन हुने अधिकांश सार्वजनिक सवारीसाधन प्रदूषण परीक्षणमा फेल भएको पाइएको छ।
यातायात व्यवस्था विभाग, वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोललीले शुक्रबार संयुक्त रुपमा बबरमहलमा गरेको प्रदूषण परीक्षणमा अधिकांश सवारीसाधन फेल भएको पाइएको हो ।
परीक्षण गरिएका ५४ वटा सवारी साधनमध्ये ३८ वटा अर्थात् ७० प्रतिशत सवारीसाधन कारबाहीमा परेका छन् । कारबाहीमा परेका छन् । जमा १६ वटा अर्थात् ३० प्रतिशत सवारीसाधन मात्र पास भएका छन् ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अत्याधिक धूँवा फाल्ने १३ वटा र यान्त्रिक अवस्था ठीक नभएका २५ गरी ३८ वटा सवारी साधन कारबाहीमा परेको बताए ।
कारबाहीमा परेका सवारी साधन अब मर्मतपछि तोकिएको जरिवाना तिराई नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने उनले बताए ।
यातायात व्यवस्था कार्यविधिअनुसार सार्वजनिक सवारीसाधनले ६/६ महिनामा सावारीको प्राविधिक जाँच गराउनुपर्छ। त्यस्तै साना तथा मझौला साधनले १ वर्षमा एक पटक त्यस्तो जाँच गराउनुपर्छ। जसमा पनि प्रदूषण जाँचको रिपोर्ट अनिवार्य गरिएको छ।
परीक्षण पास नहुन्जेलका लागि रुट इजाजत निलम्बन हुने, सवारीमा रहेका यात्रुहरुलाई अन्तिम बिन्दुसम्म पुर्याएपछि सवारी गुडाउन नपाउने, आवश्यक मर्मतसम्भार पश्चात पुनः प्रदूषण चेक जाँचको लागि वातावरण विभागमा सम्पर्क गर्नुपर्ने प्रावधान छ।