काठमाडौं । यातायात व्यवस्था विभाग ड्राइभिङ लाइसेन्स वितरणमा पूर्णरूपमा असफल भइसकेको छ । विगत ५ वर्षदेखि निरन्तर समस्यामा रहेको ड्राइभिङ लाइसेन्स परीक्षा र पास गरेका सेवाग्राहीको कार्ड छपाईको अवस्था हेर्दा लाग्छ, लाइसेन्सको लागि विभाग मातहतका कार्यालय धाउनु बेकार हो ।
यातायात कार्यालयहरू सेवाग्राहीले सबैभन्दा दुःख पाउने संस्थाको रूपमा विकास भएका छन् । विशेषतः केन्द्र र प्रदेश मातहतमा काम विभाजन भए पनि दुवैले कुशल कार्यसम्पादन र माग अनुसारको सेवा दिन नसक्दा समस्या सृजना भएको हो ।
अहिले देशभर रहेका यातायात कार्यालयहरूले लाइसेन्सको आवेदन, लिखित परीक्षा र प्रयोगात्मक परीक्षा लिने भए पनि कार्ड छपाईको काम विभाग आफैँले गरिरहेको छ । सबै काम प्रदेश मातहतमा पठाए पनि कार्ड छाप्ने काम विभागले आफैँसँग राख्दा सेवाग्राहीले समयमा सेवा पाउन नसकेका हुन् ।
भूकम्प र नाकाबन्दीको समयदेखि नै नियमित लाइसेन्स छपाई र वितरणको काम हुन सकेको छैन । परीक्षा पास गरी गाडी चलाएर हिँडिरहेका चालकहरू अझै पनि लाइसेन्सको सट्टा राजश्व तिरेको भौचर बोकेर हिँड्न बाध्य झन् । यो कुरालाई विभागकै भनाइले पनि प्रस्ट पार्छ ।
यातायात व्यवस्था विभागका अनुसार अझै ७ लाख हाराहारीमा लाइसेन्स प्रिन्ट गर्न बाँकी नै रहेका छन् । यसको मतलब ७ लाख चालकले देशभर राजश्व तिरेको कागज बोकेर सवारीसाधन चलाइ रहेका छन् ।
विगत ५/६ वर्षदेखिको अस्तव्यस्थतालाई सम्बोधन गर्न विभागले चाँडै नयाँ मेसिन र थप स्मार्ट कार्ड ल्याउने तयारी थालेको छ । अहिले टेन्डर आह्वान भएको र आयातकर्ता छनोटको प्रक्रिया चलिरहेको विभागको भनाइ छ ।
थप कार्ड र नयाँ प्रिन्टर मेसिन ल्याउनका लागि टेन्डर आह्वान भइसकेको विभागका सूचना अधिकारी विश्वदत्त पनेरु बताउँछन् । उनी भन्छन्, ‘हामीले मेसिन खरिद र स्मार्ट कार्ड खरिदको प्रक्रिया थालेका छौं । अबको ३/४ महिनामा आउला ।’
सूचना अधिकारी पनेरुका अनुसार अहिले विभागसँग प्रिन्ट नभएका ५ लाख स्मार्ट कार्ड बाँकी छ । दैनिक ४ हजार हाराहारीमा प्रिन्ट हुँदै आएकोले मौजदात कार्डले ४ महिना पुग्ने छ । अहिले देशभरका यातायात कार्यालयमा नयाँ र नवीकरण गरेर दैनिक ४५ सय जनाको स्मार्ट कार्ड प्रिन्टको लागि विभागमा आउने गरेको छ ।
यातायात व्यवस्था विभाग पनि देशभरको यातायात कार्यालयको काम केन्द्रबाट सम्भव नहुँने विषयमा भने प्रष्ट देखिन्छ । नीतिगत व्यवस्था गर्ने संसदले नै बाटो खुल्ला गरेपछि मात्रै यातायात कार्यालयहरूले कार्ड छपाईको काम गर्न पाउने छन् । कार्यालयले कार्ड छपाईको काम गर्न पाउने हो भने नवीकरणमा दिएकै दिन र नयाँ पास गर्नेले ३ दिन भित्रै लाइसेन्स पाउने अवस्था आउने देखिन्छ ।
‘लाइसेन्स सहज वितरणका लागि हरेक यातायात कार्यालयमा प्रिन्टर मेसिन हुनुपर्छ । त्यसो भए ट्रयाल पास वा नवीकरणको लागि दिएकै दिन पनि लाइसेन्स पाउन सक्ने व्यवस्था गर्न सकिनेछ । तर, अहिलेकै अवस्थामा १० वटा प्रिन्टर ल्याएर यातायात विभागमा राखे पनि प्रिन्ट भएका कार्ड देशभरका यातायात कार्यालयमा पुर्याउनु पर्ने भएकाले १५ दिन लाग्छ’, सूचना अधिकारी पनेरुले भने ।