प्राधिकरणले प्रतिस्पर्धाका आधारमा १०० मेगावाट सौर्य बिजुली किन्ने, भाउ भने घटायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाका आधारमा १०० मेगावाट बराबरको सौर्य ऊर्जा खरिद गर्ने भएको छ ।

ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको प्राधिकरणले यसअघिको प्रबन्धमा केही संशोधन गरी अब प्रतिस्पर्धाका आधारमा मात्रै सौर्य ऊर्जा खरिद गर्ने तयारी गरेको हो ।

प्राधिकरणले एक सूचनामार्फत् प्रतिस्पर्धामा सहभागी हुन व्यवसायीलाई आग्रह गरेको छ । प्राधिकरणले सोमबार प्रकाशित गरेको सूचनाअनुसार कम्पनीका आवेदन आगामी फागुन १४ गते खोलिनेछ । हाल प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा सौर्य बिजुली खरिद गर्दै आएको छ ।

प्रस्तावित व्यवस्था अनुसार अब प्राधिकरणले प्रतियुनिट ५ रुपैयाँ ९४ पैसामा खरिद गर्नेछ । यो अधिकतम महसुल दर हो । प्राधिकरणका कार्यकारी अधिकृत कुलमान घिसिङका अनुसार खुल्ला प्रतिस्पर्धाका आधारमा सौर्य ऊर्जा खरिद गर्न लागिएको हो ।

हिउँदमा नदीमा जलसतह घट्ने र उत्पादन कम हुने भएकाले त्यसको विकल्पमा सरकारले ऊर्जा मिश्रणको अवधारणा अगाडि बढाएको भए पनि प्रभावकारी काम हुनसकेको छैन ।

सौर्य ऊर्जामा लगानीकर्तालाई आर्कषित गर्ने लक्ष्यका साथ प्रतिस्पर्धाका माध्यमबाट खरिद गर्न लागिएको हो । विद्युत् विकास विभागका लागि हालसम्म कुल ४४ सौर्य परियोजनाले सर्वेक्षणको अनुमति लिएका छन् । ती आयोजनाको क्षमता १ हजार २३९ मेगावाट छन् ।

त्यस्तै, कुल २१ परियोजनाले निर्माणका लागि अनुमति लिएका छन् । ती आयोजनाको क्षमता १३३ मेगावाट छन् ।

त्यस्तै, १३ परियोजनाले सर्वेक्षणको आवेदन दिएका छन् । ती आयोजनाको क्षमता १३२ मेगावाट छ । निर्माणका लागि अनुमति माग्दै आवेदन दिएका आयोजनाको संख्या तीन छ । ती आयोजनाको क्षमता १५ मेगावाट छ ।

हाल निजी क्षेत्रका विभिन्न पाँच परियोजनाबाट कुल २४ मेगावाट बिजुली उत्पादन भइरहेको छ । प्राधिकरणले नुवाकोटमा निर्माण गरेको २५ मेगावाट क्षमताको सौर्य परियोजना सञ्चालनमा छ ।

अब स्पीडमा सवारी साधन चलाए अनिवार्य सचेतना कक्षा लिनुपर्ने Read Previous

अब स्पीडमा सवारी साधन चलाए अनिवार्य सचेतना कक्षा लिनुपर्ने

समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान Read Next

समर्थन मूल्य तोके पनि सरकारले किनेन धान, समस्यामा किसान