दिन्छु भनेकै पैसा दिएनन् विदेशी दाताले, ३७ अर्ब शोधभर्ना हुन बाँकी

काठमाडौं । सरकारले हरेक वर्ष ल्याउने वार्षिक बजेटको आकारको तुलनामा सरकारी राजस्व न्यून हुने गरेको छ । जसकारण विभिन्न दातृ निकायबाट ऋण र अनुदान लिएर सरकारले घाटा बजेट पूर्ति गर्छ । तर दातृ निकायबाट लिएको ऋण र अनुदानको रकम भने समयमै सरकारको खातामा आउन सकेको देखिँदैन ।

वैदेशिक ऋण र अनुदानबाट स्रोत व्यहोरिने गरी वार्षिक बजेटमा राखिएका योजना तथा कार्यक्रमको करिब रु ३७ अर्ब शोधभर्ना हुन बाँकी रहेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले तयार पारेर अघिल्लो हप्ता अर्थ मन्त्रालयलाई बुझाएको गत आर्थिक वर्ष २०७८/७९ को केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार विभिन्न दातृ निकायबाट रु ३६ अर्ब ९० करोड २२ लाख ५७ हजार ४५४ शोधभर्ना हुन बाँकी रहेको देखिएको हो ।
जसमध्ये वैदेशिक अनुदानतर्फ रु १५ अर्ब २७ करोड ८५ लाख ४६ हजार २१० शोधभर्ना प्राप्त गर्न बाँकी छ । त्यस्तै वैदेशिक ऋणको रु २१ अर्ब ६२ करोड ३७ लाख ११ हजार २४४ शोधभर्ना हुन बाँकी रहेको देखिन्छ ।

महालेखा नियन्त्रक कार्यालयले तयार पारेको गत आर्थिक वर्षको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणानुसार सबैभन्दा बढी स्थानीय तहले खर्च गरेको रकमको शोधभर्ना पाउन बाँकी छ ।

गत असार मसान्तसम्ममा स्थानीय तहले रु १४ अर्ब ९ करोड १ लाख ८५ हजार ३६८ शोधभर्ना लिन बाँकी छ । जसमध्ये अनुदानतर्फको शोधभर्ना बाँकी रकम रु चार अर्ब ११ करोड ६८ लाख ५५ हजार २०४ र वैदेशिक ऋणतर्फको शोधभर्ना बाँकी रकम ९ अर्ब ९७ करोड ३३ लाख ३० हजार १६४ बराबर छ ।

त्यस्तै प्रदेशको रु आठ अर्ब ५१ करोड १८ लाख ५२ हजार ८९२ शोधभर्ना हुन बाँकी छ । जसमध्ये अनुदानतर्फ रु चार अर्ब ९५ करोड ६७ लाख ५६ हजार ८९२ र ऋणतर्फ रु तीन अर्ब ५५ करोड ५० लाख ९६ हजार शोधभर्ना हुन बाँकी रहेको देखिन्छ ।

सरकारको सङ्घीय सञ्चित कोष व्यवस्थापन गर्ने निकाय अर्थ मन्त्रालयले समेत शोधभर्ना लिन बाँकी छ । गत असार मसान्तसम्ममा अर्थ मन्त्रालयले रु १३ करोड ५८ लाख ७२ हजार १४४ अनुदान शोधभर्ना लिन बाँकी छ । त्यस्तै वित्तीय व्यवस्थातर्फको रु १३ अर्ब ८५ करोड ५३ लाख १९ हजार ४७४ ऋण रकम पनि शोधभर्ना भएको देखिँदैन ।

शोधभर्ना पाउन बाँकी अनुदान रकमतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मात्रै रु चार अर्ब ४५ करोड ८८ लाख ८७ हजार ९४७ बाँकी छ । त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले रु १९ करोड ४५ लाख ७९ हजार ९१५, गृह मन्त्रालयले रु ६५ करोड ४३ लाख ६० हजार १५९, सहरी विकास मन्त्रालयले रु १७ करोड ३१ लाख ५४ हजार ९८७ र स्वास्थ्य मन्त्रालयले रु २८ करोड १६ लाख २६ हजार २२ बराबर शोधभर्ना लिएको छैन ।

अन्तर्राष्ट्रिय सहायताको रकम शोधभर्ना हुन नसक्दा त्यसको नकरात्मक असर अर्थतन्त्रमा देखिन्छ । गत चैत १५ गते बसेको राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक)को ४९ औँ बैठकले अन्तर्राष्ट्रिय विकास सहायताबाट सञ्चालित योजना तथा कार्यक्रममा सरकारले पाउनुपर्ने रकम लामो समयसम्म शोधभर्ना हुन नसक्दा यसले नेपालको विदेशी मुद्रा सञ्चितीमा समेत नकारात्मक असर देखिएको भन्दै त्यसबारे अध्ययन गर्न कार्यदलसमेत गठन गरेको थियो ।

त्यस्तै महालेखा परीक्षकको ५९औं प्रतिवेदनले पनि वैदेशिक सहायताको शोधभर्ना पाउन नसक्नु गम्भीर समस्याका रूपमा रहेको औँल्याएको छ । ‘शोधभर्ना प्राप्त हुनुपर्ने ऋण तथा अनुदानको स्पष्ट देखिने गरी आयोजनागत, दातागत, प्रदेश तथा स्थानीय तहगत देखिने गरी लेखाङ्कन र अभिलेख गरिनुपर्छ,’ महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ।

निफ्राको साधारणसभा सम्पन्न, लाभांश पारित Read Previous

निफ्राको साधारणसभा सम्पन्न, लाभांश पारित

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

आरएसडीसी लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?