संसदमा सेयर लगानीकर्ता, बैंकरदेखि अर्बपतिसम्मको इन्ट्री, क-कसले जिते ?

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको चुनावी परिणाम अन्तिम चरणमा पुगेको छ । हालसम्म १४७ क्षेत्रको नतिजा आइसकेको छ ।

यसपटकको चुनावले ठूला र पुराना भनिएका दलहरुलाई ठूलै धक्का दिएको छ । केही नयाँ दलहरुको उदय भएको छ । पुराना राजनीतिक दल र नेताबाट बाट दिक्क भएका जनताले यस पटक केही नयाँ दललाई जनमत दिएर विद्रोहको संकेत गरेका छन् ।

७ दशक बढी लामो इतिहास भएका कांग्रेस र नेकपा एमालेबाट असन्तुष्ट जनताले आफ्नो मत राट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीलाई दिएका छन् । यी नयाँ दलले सरकारको नेतृत्व गर्नेसक्ने जनमत नपाए पनि जनतालाई आफ्नो गोजीको भोट सम्झने ठूला दललाई धक्का र झापड मिलेको छ ।

विगतमा झैं यसपालिको चुनावमा पनि विभिन्न क्षेका व्यक्तिहरु राजनीतिक दल र स्वतन्त्र व्यक्तिगत रुपमा चुनावी मैदानमा उत्रिएका थिए । राजनीतिक दलका नेता बाहेक विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्तिहरु चुनावी प्रतिस्पर्धा भीडेका थिए ।

यसैक्रममा, नयाँ र पुराना गरी करिब २ दर्जन व्यापारी, व्यवसायी, लगानीकर्ता, बैंकरसहित आर्थिक क्षेत्रका व्यक्तिहरु चुनावी प्रतिस्पर्धामा सहभागी थिए । जसमा करिब १ दर्जन बढीले जित हात पारेका छन् ।

जनताको मतद्धारा चुनिएर आउनेमा सेयर लगानीकर्तादेखि नेपालका एकमात्र डलर अर्बपति समेत रहेका छन् । आर्थिक क्षेत्रलाई राज्यले सधैं उपेक्षा गर्ने गरेको आरोप लगाउने व्यवसायी, उद्यमीहरु आफैं कानुन, नीति निर्माण गर्ने ठाउँमा पुगेका हुन् ।

आर्थिक क्षेत्रका क–कसले जिते चुनाव ?

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका व्यवसायी उम्मेश श्रेष्ठ रवि लामिछानेसँग पराजित भएका छन भने काँग्रेसबाटै नवलपरासीबाट अर्बपति विनोद चौधरी विजयी भएका छन् ।

विगतमा समानुपातिकको कोटाबाट सांसद बनेका विनोद चौधरी र उमेश श्रेष्ठ लगायत व्यवसायी यस पटक भने प्रत्यक्ष प्रतिस्पर्धामै होमिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोदकुमार चौधरी पश्चिम नवलपरासी–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । यसअघि दुईपटक समानुपातिकतर्फबाट सांसद रहेका चौधरी अब भने प्रत्यक्ष निर्वाचित भएर संसद् छिर्न लागेका हुन् ।

बर्दघाट सुस्ता पश्चिमको रोचक चुनावी प्रतिस्पर्धामा चौधरीले जनता प्रगतिशील पार्टी नेपालका उम्मेदवार हृदयेश त्रिपाठीलाई भारी मतान्तरले पराजित गरे । चौधरीले २९ हजार ४९५ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरे ।

करिब पाँच दशकदेखि उद्योग व्यवसायमा समर्पित रहेका उनी विगत डेढ दशकदेखि सक्रिय राजनीतिमा छन् । चौधरी २०६४ सालको संविधानसभा निर्वाचन अघि तत्कालीन एमालेमा प्रवेश गरेका थिए । दल प्रवेश गरेसँगै उनी संविधानसभा सदस्य बनेका थिए । नेकपा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी संविधानसभाको दोस्रो निर्वाचनमा प्रत्यक्षतर्फ नै उम्मेदवारका आकाङ्क्षी रहेका पनि उनीले चुनाव लडेनन् ।

व्यवसायलाई विस्तार गर्दै उनी एक सफल उद्योगी बनेका छन् । विश्वका अर्बपति धनाढ्यको सूची सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय पत्रिका ‘फोब्र्स’ मा पर्ने चौधरी एक मात्र नेपाली नागरिक छन् । फोब्र्सको अर्बपति सूचीमा अहिले उनी १ हजार ९२९औँ स्थानमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभाकको चुनावमा उम्मेदवार बनेका विक्रम पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट विजयी भएका छन् । उनले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार डा. भोजराज अधिकारीलाई १० हजार बढी मतले पछि पारे । पाण्डे ३४ हजार ३६२ मत ल्याएर विजयी भए ।

६९ वर्षीय पाण्डे राजनीतिमा आउनुअघि निर्माण व्यवसायी थिए । उनको निर्माण कम्पनी कालिका कन्ष्ट्रक्सनले दर्जन बढी आयोजनाहरु अलपत्र पारेको आरोप लाग्दै आएको छ भने कतिपय योजनामा अख्तियारमा समेत मुद्दा परेको छ ।

उनी हाल राप्रपाका उपाध्यक्ष हुन् । २०७० सालको निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचित भएर ०७३ मा भूमि सुधार र ०७४ मा वन मन्त्री भइसकेका छन् ।

व्यवसायी कृष्णकुमार श्रेष्ठ बारा जिल्ला क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले प्रतिस्पर्धी एमालेका उम्मेदवार एकवाल मियाँलाई झण्डै सात हजार मतान्तरले पराजित गरे । एकीकृत समाजवादीबाट उम्मेदवार बनेका श्रेष्ठले २० हजार २९७ मत ल्याउँदा मीयाँले १३ हजार ८६३ मत प्राप्त गरेका छन् ।

२०७४ मा तनहुँबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित श्रेष्ठ यसअघि रोजगार तथा सामाजिक सुरक्षा मन्त्री समेत भइसकेका छन् । यसअघि श्रेष्ठ म्यानपावर र जग्गा कारोबार व्यवसाय गदै आएका थिए ।

व्यवसायी तथा बैंकर वीरेन्द्र महतो जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । महतोले जनमत पार्टीका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतले पराजित गरेका छन् ।

उनका प्रतिस्पर्धी साहले १६ हजार २९४ मत ल्याएका थिए । महतो एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोका भाइ हुन् । उनी आफे विभिन्न व्यवसायमा संलग्न रहेका छन् । महतो हाल सञ्चालनमा रहेको माछापुछ्रे बैंकका अध्यक्ष समेत हुन् ।

काँग्रेसको तर्फबाट मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिएका मेडिकल व्यवसायी सुनिल शर्माले पनि  जित हात पारे ।  उनले एमालेका प्रतिस्पर्धी भानुभक्त ढकाललाई २३ हजार बढी मतान्तरले पराजित गरे । शर्माको हाल ३ वटा मेडिकल कलेजका मुख्य लगानी छ । उनले विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज चलाइरहेका छन् ।

कांग्रेसका तर्फबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पर्यटन व्यवसायी राजेन्द्र बजगाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । पर्यटन व्यवसायी बजगाईंको १ अर्ब १६ करोड लगानीको होटल वर्णबास छ । उनले एमालेका उम्मेदवार रामशरण बस्नेतलाई १६ हजार ६४३ मतले पराजित गदै जित हात पारेका छन् । बजगाईले ३३ हजार ४२८ मत ल्याउँदा उनका प्रतिस्पर्धी बस्नेतले १६ हजार ७३२ मत प्राप्त गरे ।

निर्माण व्यवसायी मोहन आचार्यले रसुवाबाट जित हात पारेका छन् । कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका आचार्यले ९ हजार ६२१ मतान्तरले विजयी हासिल गरेका हुन् । उनले एमालेका उम्मेदवार छोवाङतेन्जिङ तामाङलाई पराजित गरे ।

आचार्यले १८ हजार २३५ मत प्राप्त गर्दा तामाङले ८ हजार ६१४ मत ल्याएका छन् ।उनको रसुवा कन्स्ट्रक्सन छ । उनी सांसद भएको बेला आफ्नो कम्पनीलाई अनुकूल हुने गरी मापदण्ड बनाएर लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का दिन लागेको आरोप छ ।

काँग्रेसको तर्फबाट संखुवासभाबाट उम्मेदवार बनेका पर्यटनका साथै जलविद्युत व्यवसायी दीपक खड्काले पनि जित हात पारे । यसैगरी, एकीकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएका डोटीबाट व्यवसायी प्रेम आले, सिन्धुपाल्चोकबाट काँग्रेसका मोहन बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवार  सेयर लगानीकर्ता हरि ढकाल लगायत दर्जनौं व्यवसायीहरुले संसदकाेयात्रा तय गरेका छन् भने केही व्यवसायीले समानुपातिक मार्फत सिट सुरक्षीत गरिसकेका छन् ।

 

हिमालयन डिस्ट्रीलरीको बम्पर लाभांश घोषणा, बुकक्लोज कहिले ? Read Previous

हिमालयन डिस्ट्रीलरीको बम्पर लाभांश घोषणा, बुकक्लोज कहिले ?

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Next

१५५ क्षेत्रको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?