
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक विस्तार प्रक्रिया अघि बढेको छ ।
९५.५ किलोमिटर लामो यस यस सडकखण्डलाई ५ भागमा विभाजन गरी एसियाली विकास बैंकको आयोजना निर्देशनालय (एडीबी)ले ठेक्का प्रक्रिया अघि बढाएको हो ।
आयोजना प्रमुख सुवोधकुमार देवकोटाले अहिले पाँचै खण्डको ठेक्का आह्वान भई मूल्यांकनको चरणमा रहेको जानकारी दिए । ‘काँकडभिट्टा–लौकही सडक ४ लेनमा विस्तार गर्न ठेक्का प्रक्रिया चलिरहेको छ । ५ खण्डको छुट्टाछुट्टै ठेक्का आह्वान गरिएको छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले कम्पनीहरूको प्राविधिक मूल्यांकन भइरहेको छ । सोसकेपछि आर्थिक मूल्यांकनबाट कम्पनी छनोट गरिन्छ ।’
उनले चालु आवमा ठेक्का टुंगो लगाइने बताए । आगामी आर्थिक वर्ष २०८०/८१ देखि सडक विस्तारको काम सुरु गरिने उनले जानकारी दिए । ‘अहिले प्राविधिक मूल्यांकनको चरणमा रहेको छ, आउँदो असारसम्म ठेक्का सम्झौता गर्ने छौँ , अर्को आर्थिक वर्षबाट फिल्डमै काम सुरु गर्ने छौँ,’ देवकोटाले भने, ‘यो वर्ष अफिस बनाउने, रुखक कटान गर्नु पर्छ, की फिल्ड किल्यरेन्स गर्ने काम गर्ने छौँ ।’
यो सडक खण्डको लम्बाइ ९५.५ किलोमिटर रहेको छ । यो सडक निर्माण गर्न ५ वटा प्याकेजमा ठेक्का आह्वान गरिएको छ । जसमा पहिलो प्याकेज ४५ किलोमिटर सडक विस्तार गर्न ३ वटा निर्माण कम्पनीहरूको आवेदन परेको उनले जानकारी दिए ।
दोस्रो प्याकेजमा ४० किलोमिटर सडक खण्ड विस्तार गर्न ४ वटा निर्माण कम्पनीहरूको आवेदन परेको छ भने तेस्रो प्याकेजमा १०.५ किलोमिटरको सडक विस्तार गर्न ५ निर्माण कम्पनी इच्छुक देखिएका छन् ।
यस्तै चौथो प्याकेजमा पुल निर्माणको लागि ठेक्का आह्वान गरिएको छ । जसमा पहिलो ३ वटा आर्कब्रिज निर्माण गर्न गरिएको ठेक्कामा एउटा निर्माण व्यवसायीको मात्र आवेदन परेको आयोजना प्रमुख देवकोटाले जानकारी दिए ।
यसैगरी पाँचौ प्याकेजमा ३ वटा पुल निर्माणका लागि २ वटा निर्माण व्यवसायीको आवेदन परेको छ । यस सडक खण्डमा ६ वटा आर्क ब्रिज समेत बनाइने छ । आवेदन दिनेमा चिनियाँ र भारतीय कम्पनी पनि रहेको देवकोटाले बताए ।
निर्माण कम्पनीले सम्झौता भएको ३ वर्षसम्ममा सडक तथा पुल निर्माण काम सम्पन्न गर्नुपर्ने छ । निर्माण सम्पन्न भएको ५ वर्षसम्म सो सडकमा हुने सबै मर्मतसम्भारको काम समेत निर्माण कम्पनी आफैले जिम्मा लिनुपर्ने छ । सडक विस्तारका क्रममा बजार क्षेत्रमा सर्भिस लेन पनि निर्माण गरिने छ ।
एडीबीले ३० करोड अमेरिकी डलर (करिब ३८ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराएको छ । यो बाहेक नेपालले पनि सडक निर्माणमा कम्तिमा ७ अर्ब रुपैयाँ लगानी गर्नेछ । यसको अनुमानित लागत करिब ४५ अर्ब रहेको छ ।