काठमाडौं । एकैपटक ५ कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले एकैपटक ५ हाइड्रोपावर कम्पनीलाई आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
बोर्डबाट एशियन हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडले आइपीओ जारी गर्न अनुमति पाएका हुन् ।
५ वटै कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँदरले आइपीओ निष्काशन गर्न अनुमति पाएका हुन् । अनुमति पाएका सबै कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आइपीओ जारी गर्नेछन् ।
कुन कम्पनीकाे कति कित्ता ?
एशियन हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
त्यसैगरी, सुपरमाई हाइड्रोपावरले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता, माया खोला हाइड्रोपावरले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता र शुभम पावरले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको सेयर जारी गर्न अनुमति पाएका छन् ।