पोखरा विमानस्थलमा ‘क्यालिब्रेसन फ्लाइट’ सुरू

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको छ भने शनिबार नै क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईको जहाज पोखरा पुगेको थियो ।

पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुने प्राधिकरणका प्रवक्ता जगन्नाथ बताए । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते)बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।

यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौं,’ प्रवक्ता निरौलाले भने ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने प्रवक्ता निरौलाले बताए । एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जनाएको छ । करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल २ हजार ५०० मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ । उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।

विश्वकप फुटबलमा आज तीन खेल हुँदै, यस्तो छ तालिका Read Previous

विश्वकप फुटबलमा आज तीन खेल हुँदै, यस्तो छ तालिका

कच्चा तेलको मूल्यमा गिरावट, प्रति ब्यारल कति पुग्यो ? Read Next

कच्चा तेलको मूल्यमा गिरावट, प्रति ब्यारल कति पुग्यो ?