व्यापार घाटा कम गर्ने ‘प्रोडक्ट’ बन्दै बिजुली, साढे ५ महिनामा साढे १० अर्बको निर्यात

"थप २३.५ मेगावाट निर्यातको अनुमति "

काठमाडौं ।चर्को व्यापार घाटा व्यहोरिरहेको मुलुकका लागि बिजुली निर्यातजन्य नयाँ प्रोडक्ट बनेको छ । बिजुली निर्यात गरेरै व्यापार घाटा समेत घटाउन सक्ने संकेत देखिएको छ ।

केही वर्ष अघिसम्म अर्बौंको बिजुली आयात गर्दै आएको नेपाल अहिले अर्बौंको बिजुली निर्यात गर्ने मुलुक बनेको छ । चालु आर्थिक वर्षको साढे ५ महिनामा झन्डै साढे १० अर्बको बिजुली भारत निर्यात भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार जेठ १९ गतेदेखि कात्तिक मसान्तसम्म १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँकोरुपैयाँको बिजुली भारत निर्यात भएको छ । सो अवधिमा कुल १ अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट विद्युत् भारतीय बजारमा विक्री गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले चालु वर्षको भदौमा सबैभ्न्दा धेरै २ अर्ब ४२ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात गरेको छ । भदौमा देशभित्र खपत हुन नसकेको २४ करोड ६५ लाख २९ हजार युनिट विद्युत निर्यात गरी भदौमा २ अर्ब ४१ करोड ६७ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।यसैगरी, साउनमा २ अर्ब १ करोड ८४ लाख रुपैयाँ, असोजमा १ अर्ब ७५ करोड ३८ लाख, कात्तिकमा १ अर्ब १ अर्ब ३८ करोड ५५ लाख, असारमा १ अर्ब ८६ करोड ८० लाख र जेठमा ८९ करोड ५४ लाख रुपैयाँ बराबरको बिजुली निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

हाल दैनिक रुपमा कुल ७ वटा आयोजनाको ३८६ मेगावाट बराबरको बिजुली निर्यात भइरहेको छ । प्राधिकरणले चालु आवमा मात्रै १६ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात हुने प्रक्षेपण गरेको छ ।

प्राधिकरणले पहिलाेपटक २०७८ कात्तिक (लक्ष्मीपूजा)को दिनदेखि नुवाकोटमा आयोजनास्थल रहेका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारत निर्यात सुरु गरेकाे थियाे। यस वर्ष भने गत जेठ २७ गतेदेखि भारतको ऊर्जा एक्सचेञ्ज मार्केटमा समेत निर्यात सुरु भएको थियाे ।

थप २३.५ मेगावाट निर्यातको अनुमति

भारतले थप बिजुली निर्यातका लागि अनुमति दिएको छ । भारतले २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत केन्द्रको विद्युत निर्यातका लागि अनुमति दिएको प्राधिकरणले जनाएको छ ।

भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत विक्रीका लागि अनुमति दिएको हो ।

यससँगै नेपालले कुल ४०९ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको छ । प्राधिकरणले यसअघि ३८६ मेगावाट बिजुली निर्यातका लागि अनुमति पाएको थियो । प्राधिकरणले अब ८ जलविद्युत केन्द्रबाट उत्पादित ४०९ मेगावाट विद्युत भारतीय आइएक्सको डे–अहेड बजारमा विक्रीका लागि अनुमति पाएको छ ।

अनुमति पाउने आयोजना ८ पुग्यो

भारत बिजुली विक्रीका लागि अनुमति पाउने जलविद्युत् आयोजनाको संख्या ८ पुगेको छ । यी आयोजनबाट उत्पादित ४०९ मेगावाट बिजुली भारत निर्यात गर्न सकिने भएको हो ।

प्राधिकरणको स्वामित्वका त्रिशूली तथा देवीघाटको ३७.७ मेगावाट, कालीगण्डकी ‘ए’को १४० मेगावाट, मध्यमस्र्याङ्दीको ६८ मेगावाट, मस्र्याङ्दीको ६७ मेगावाट निर्यातका लागि अनुमति पाएका छन् ।

यसैगरी, लिखु–४ बाट उत्पादित ५१ मेगावाट, चिलिमे जलविद्युत्को २२ मेगावाट र २३.५ मेगावाटको सोलुखोला जलविद्युतबाट उत्पादित बिजुली भारतको डे अहेड मार्केट बेच्न सकिने भएको हो ।

 

अब घर भाडामा लिँदा/दिँदा लिखित सम्झौता गर्नुपर्ने, विवरण वडामा बुझाउनुपर्ने Read Previous

अब घर भाडामा लिँदा/दिँदा लिखित सम्झौता गर्नुपर्ने, विवरण वडामा बुझाउनुपर्ने

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने Read Next

नेपाल एयरलाइन्सले भैरहवाबाट नयाँदिल्ली उडान गर्ने