घरजग्गा व्यवसायमा मन्दी : किनबेच आधा घट्यो, यी हुन् धेरै कारोबार भएका ठाउँ

काठमाडौं । घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकको कडाइ, चरम तरलता अभाव, ब्याजदर वृद्धि, कित्ताकाटमा लगाइएको रोक लगायत कारणले घरजग्गा कारोबारमा भारी गिरावट आएको हो ।

बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावका कारण घरजग्गा किन्नका लागि ऋण पाउने अवस्था छैन । यस्तै, सरकारले गत जेठदेखि लागू गरेको भूउपयोग नियमावलीका कारण कित्ताकाट प्रभावित हुँदा टुक्रा जग्गाको अभावमा कारोबार सुस्ताएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्षको कात्तिक महिनाको तुलनामा चालु वर्षको कात्तिकमा घरजग्गा किनबेच र कारोबार आधाले घटेको छ ।

गत वर्षको कात्तिकमा देशभरका मालपोत कार्यालयबाट ५० हजार घरजग्गा किनबेच भएकोमा चालु वर्षको कात्तिकमा २७ हजार ९३९ वटामा सीमित भएको छ । गत वर्षको तुलनामा चालु वर्षको कात्तिकमा घरजग्गा किनबेच २२ हजार १४४ वटाले घटेको हो ।

चालु आवको कात्तिकमा कुल ७६ हजार ५६२ घरजग्गा कारोबार भएको विभागले जनाएको छ । असोजको तुलनामा भने यस महिना २१५० ले किनबेच बढेको छ । गत असोजमा २५ हजार ७८९ वटामा घरजग्गा कारोबार भएको छ ।

असोजमा चालु वर्षको सबैभन्दा कम घरजग्गा किनबेच भएको छ । साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

राजस्वमा भारी गिरावट

घरजग्गा कारोबार सुस्ताएसँगै राजस्व संकलनमा ठूलो असर परेको छ । गत वर्ष कात्तिकको तुलनामा चालु वर्षमा राजस्व संकलन साढे दुई अर्बले घटेको छ । गत कात्तिकमा घरजग्गा कारोबारबापत ५ अर्ब ४९ करोड राजस्व संकलन भएकोमा चालु आवमा ३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत असोजको तुलनामा यो आधा अर्बले बढी हो । असोजमा घरजग्गा कारोबार वापत २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरिएको थियो । चालु वर्षकै भदौमा ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठेको थियो भने साउनमा २ अर्ब ७४ करोड संकलन भएको थियो ।

यी हुन कात्तिकमा घरजग्गा कारोबार हुने १० ठाउँ

कात्तिकमा देशभर कुल २७ हजार बढी घरजग्गा किनबेच र ७६ हजार बढी कारोबार भएको छ । यो घरजग्गा कारोबारको संख्या चालु आवको असोजपछि दोस्रो कम हो । कात्तिकमा पनि विगतकै जस्तो तराईका जिल्लाहरूमै धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

यस महिना सबैभन्दा धेरै घरजग्गा किनबेच मालपोत कार्यालय इनरुवाबाट भएको छ । इनरुवाबाट १ हजार १७६ वटा घरजग्गा लिखित पारित भएको छ ।

त्यसैगरी, मालपोत कार्यालय नेपालगञ्जबाट १ हजार १४२, जनकपुरबाट १ हजार ७, बेलबारीबाट ९५०, भद्रपुर झापा मालपोत कार्यालयबाट ८५२, सप्तरीको राजविराजबाट ८०३, मालपोत कार्यालय चितवनबाट ७६०, घोराहीबाट ६९९, रुपन्देहीबाट ६८९, तुलसीपुरबाट ६५८, भक्तपुरबाट ६४१ र धनगढी मालपोत कार्यालयबाट ६३५ घरजग्गा किनबेच भएका छन् ।

मुस्ताङबाट डोल्पा जोड्ने सडक म्यादभन्दा ६ महिना अघि नै सम्पन्न Read Previous

मुस्ताङबाट डोल्पा जोड्ने सडक म्यादभन्दा ६ महिना अघि नै सम्पन्न

आइएमई पेको हवाई यात्रा अफर, १ रुपैयाँमै जहाजको टिकट Read Next

आइएमई पेको हवाई यात्रा अफर, १ रुपैयाँमै जहाजको टिकट