मुस्ताङबाट डोल्पा जोड्ने सडक म्यादभन्दा ६ महिना अघि नै सम्पन्न

बलेवा । सडक डिभिजन कार्यालय बागलुङले एउटा सडक परियोजना सम्झौता अवधि नसकिँदै सम्पन्न भएको बताएको छ । डिभिजनले मुस्ताङदेखि डोल्पा जोड्ने सडक निर्धारित समयअघिनै सम्पन्न भएको बताएको छ ।

मुस्ताङको वाराजुङ मुक्तिक्षेत्र गाउँपालिकादेखि डोल्पाको वार्खा ताङसोङ जोड्ने सडक तोकिएको समयभन्दा छ महिना अगाडि सम्पन्न भएको हो ।

चालु आर्थिक वर्ष सडक स्तरोन्नति गर्ने मुस्ताङ खण्डको करिब ६ किमी सडक ६ महिनामै सम्पन्न भएको हो । गत चैत २७ गते सम्झौता भएको सडक असोज मसान्तमा सकिएको हो ।

सडक निर्माण सम्पन्न गर्ने मिति २०८० को असोज ३० सम्म थियो । तर जागृति कुन्सालिङ संयुक्त निर्माण कम्पनीले ६ महिनामै काम सकेको हो । चार करोड ६४ लाख ८२ हजारको लागतमा बनेको यो सडकको अन्तिम मूल्याङ्कनसमेत भइसकेको डिभिजन सडक कार्यालय बागलुङका प्रमुख बलिराज मल्लले बताए ।

सडकमा १ लाख ८७ हजार घनमिटर माटो खन्ने, ३ हजार ५०० घनमिटर ग्याबीन पर्खाल लगाउने तथा खाल्डाखुल्टी सम्याएर ग्राभेल विच्छाउने समेतको काम थियो ।

ठेकेदारका प्रतिनिधि जीवन रोकायले चिसो मौसममा काम गर्न नसकिने भएकाले सम्झौता गरेकै दिनदेखि काम थालेर सकेको बताए ।

‘उहाँको काम निकै प्रभावकारी रहेछ, समय अगाडि सक्नुभयो,’ लेखा अधिकृत रामनाथ शर्माले भने, ‘उहाँलाई डिभिजनले सम्मान गर्नेछ । वर्षौंदेखि काम अलपत्र भएको गुनासो आउने बेलामा उहाँले गरेको काम उदाहरणीय भएको बताउनुभयो ।’

डिभिजनले मुस्ताङ जिल्ला पनि हेर्छ । यो करिडोरको मनाङदेखिकै खण्ड हेरिरहेको मल्लले जानकारी गराए । ५ वर्षदेखि निर्माण सुरु भएको यो सडक खण्डमा ११ मिटर चौडा पार्ने काम पनि भएको छ । यो सडक अधिकांश खण्ड चार हजार मिटरभन्दा माथि पर्ने र मङ्सिर लागेपछि यहाँ हिमपात हुन्छ ।

‘हिमपातका कारण काम गर्न कठिन हुन्छ । चैतसम्म हिउँ रहने र निर्माण उपकरण सोही स्थानमा राख्नुपर्दा खिया लाग्ने, इञ्जिन बिग्रने भएपछि समयमा काम सकेर उपकरण तल्लो खण्डमा झारिएको हो,’ रोकायाले भने ।

धनुषामा एक ट्रक अवैध मदिरा बरामद Read Previous

धनुषामा एक ट्रक अवैध मदिरा बरामद

घरजग्गा व्यवसायमा मन्दी : किनबेच आधा घट्यो, यी हुन् धेरै कारोबार भएका ठाउँ Read Next

घरजग्गा व्यवसायमा मन्दी : किनबेच आधा घट्यो, यी हुन् धेरै कारोबार भएका ठाउँ