विकास बजेट खर्च कछुवाको गतिमा, ४ महिनामा जम्मा ७ प्रतिशत खर्च

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारी बजेट खर्च साढे १९ प्रतिशत मात्रै भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म रु ३ खर्ब ५० अर्ब ९८ करोड ७३ लाख खर्च भएको हो । जुन वार्षिक विनियोजित बजेटको १९.५७ प्रतिशत बराबर हो ।

यस अवधिमा चालुतर्फ २३.७८ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि चालु शीर्षकमा रु ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख बजेट बिनियोजन भएकोमा कात्तिक मसान्तसम्ममा रु २ खर्ब ८१ अर्ब ३८ करोड ६१ लाख खर्च भएको हो ।

त्यस्तै, पूँजीगततर्फ रु ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन भएकोमा हालसम्म ६.९१ प्रतिशत अर्थात् रु २६ अर्ब २९ करोड ६१ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्थापन शीर्षकमा रु २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख बराबरको वार्षिक बजेट रहेकोमा अहिलेसम्म १८.८१ प्रतिशत अर्थात् रु ४३ अर्ब ३० करोड ५१ लाख खर्च भएको छ ।

यही अवधिसम्म सरकारको राजस्व सङ्कलन १९.११ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल रु १४ खर्ब ३ अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने सरकारको लक्ष्य रहेकोमा कात्तिक मसान्तसम्ममा रु २ खर्ब ६८ अर्ब सात करोड १७ लाख बराबर असूली भएको छ । जसमध्ये कर राजस्वतर्फ १८.९७ प्रतिशत अर्थात् रु २ खर्ब ४५ अर्ब ७८ करोड ६८ लाख र गैरकर राजस्वतर्फ २०.६८ प्रतिशत अर्थात् रु २२ अर्ब २८ करोड ४९ लाख उठेको छ ।

पहिलो चार महिनामा सरकारले रु ३ अर्ब ४१ करोड ५९ लाख वैदेशिक अनुदान लिएको छ । जुन वार्षिक लक्ष्यको ६.१६ प्रतिशत बराबर हो । चालु आवका लागि सरकारले रु ५५ अर्ब ४५ करोड ८३ लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको छ ।

१ वर्षमा थपिए साढे ७ लाख करदाता Read Previous

१ वर्षमा थपिए साढे ७ लाख करदाता

हुन्डाईका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजमा ऋण दिने Read Next

हुन्डाईका विद्युतीय गाडी किन्न ग्लोबल आइएमई बैंकले सहुलियत ब्याजमा ऋण दिने