१४० मेगावाटको तनहुँ जलविद्युतको एक तिहाई सुरुङ खनियो, ४७५ जनशक्ति परिचालन

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाको विद्युत्गृहतर्फ ५६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । कुल १ हजार ४०८ मिटर लामो सुरुङ खन्नुपर्ने छ ।

विद्युत्गृहअन्तर्गत सुरुङ निर्माण कार्यमा ४७५ जना जनशक्ति परिचालन गरिएको आयोजनाको वातावरण शाखाका प्रतिनिधि सन्तोष तिवारीले जानकारी दिए । बाँधस्थलबाट पनि छिट्टै सुरुङ खन्ने कार्य अघि बढाइने छ ।

उनले भने, ‘आयोजनाले चौबिसै घण्टा निर्माण कार्यलाई अघि बढाएको छ ।’ प्याकेज दुईअन्तर्गत १, २ र ३ को विद्युत्गृह जाने टनेलको सबै काम सम्पन्न भइसकेको छ ।

ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यलाई तीव्रता दिइएको छ । पानी निस्कने सुरुङको ढलान गर्ने काम भइरहेको आयोजनाका सहायक निर्देशक भोजराज पोख्रेलले जानकारी दिए । उक्त प्याकेजको ठेक्का सोङ दा–कालिका जेभीले पाएको छ । त्यसैगरी, प्याकेज दुई अन्तर्गतको विद्युत्गृह खन्ने कामसमेत सम्पन्न भइसकेको छ ।

आयोजनाको प्याकेज दुईअन्तर्गत सुरुङ, विद्युत्गृह निर्माण र हाइड्रोमेकालीन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले पाएको छ ।

सिनो हाइड्रोपावर लिमिटेडले ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगृत विद्यृत्गृहको सुरुङ खन्ने काम सम्पन्न गरेको आयोजनाले जनाएको छ । विद्युत्गृहको सुरुङ खन्ने काम सन् २०२० अगष्टदेखि प्रारम्भ भएको हो ।

सिनोहाइड्रो कम्पनीले ४३७.१ मिटर लामो सुरुङ खन्ने काम सम्पन्न गरिसकेको छ । २८०.८५ मिटर लामो मुख्य पहुँच सुरुङ र बाँधस्थल जाने ३१४ मिटर लामो पहुँच सुरुङ निर्माण कार्य पनि सम्पन्न गरेको छ ।

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, पास भएका भने चल्न पाउने Read Previous

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, पास भएका भने चल्न पाउने

डिसेम्बर भित्रै थप २ 'एटीआर-७२' जहाज भित्र्याउँदै बुद्ध एयर Read Next

डिसेम्बर भित्रै थप २ 'एटीआर-७२' जहाज भित्र्याउँदै बुद्ध एयर