५ हजार सवारीसाधन अट्ने भूमिगत पार्किङ बनाउँदै महानगर, डीपीआरको तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले रत्नपार्कस्थित खुल्लामञ्जमा तीनतले भूमिगत (ट्रिपल बेसमेन्ट) पार्किङ बनाउने भएको छ ।महानगरपालिकाको बुधबार बसेको १० औं कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

महानगरले खुल्लामञ्चमा अहिले खाली रहेको जग्गामा ट्रिपल बेसमेन्ट पार्किङ बनाएर प्रयोगमा ल्याउने योजना बनाएको हो । बढ्दो सवारी चापलाई मध्येनजर गर्दै महानगरले खुलामञ्चसँगैको जग्गामा ‘रिभर्स बोरिङ’ सहितको भूमिगत पार्किङका लागि आवश्यक पूर्वाधारको निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागेको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले पिपुल बेस्ड अन्डर ग्राउन्ड पार्किङ बनाउनका लागि विस्तृत अध्यन प्रतिवेदन (डीपीआर) गर्ने तयारी भइरहेको बताए । उनले डीपीआर बनेपछि सार्वजनिक सुनुवाई मार्फत भूमिगत पार्किङ निर्माण सुरू हुने बताए ।

‘अहिले निर्णय भएको हो । डीपीआर हुन्छ अनि सार्वजनिक सुनुवाईबाट निर्माण सुरू गरिन्छ,’ प्रवक्ता मानन्धरले चाणक्य पोष्टसँग भने ‘खुल्लामञ्चको मुनि सबै पार्किङको लागि प्रयोग हुने छ ।’

करिब ५ हजार बढी सवारी साधन अट्ने गरी बेसमेन्ट पार्किङको लागि अध्ययनको तयारी गरेको उनले बताए । खुलामञ्चको चौरमा पानी रिचार्ज पोखरी निर्माण गरी मुनी पार्किङको व्यवस्था गर्ने गरी पार्किङ निर्माण गरिनेछ ।

हाल महानगरले भूमिगत पार्किङ निर्माणका लागि आन्तरिक तयारी गरिरहेको छ । खुल्लामञ्चको ४१ रोपनी जमिनमा सुविधासम्पन्न पार्किङ बनाउन लागिएको हो । यसका लागि झण्डै ३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।विगतमा २०७३ कम समेच खुल्लामञ्चमा बेसनमेन्टसहितको पार्किङ बनाउने कार्यक्रम सहति अध्ययन सुरू गरिए पनि त्यसले सार्थकता पाउन सकेको थिएन ।

२०७८ को वैशाख १५ गते देखि काठमाडौं महानगरपालिकाले खुलामञ्चमा सवारी प्रवेशमा रोक लगाएको थियो । हाल यसमा रंगरोगन गरी सुधारको काम गरिँदैछ । हाल खुलामञ्च बन्द अवस्थामै रहेको छ । पार्किङ सार्वजनिक–निजी–साझेदारी (पिपिपी) मोडेलमा निर्माण गरिनेछ । पीपीपी मोडलमा ठेक्का खोल्न महानगरले केही नीतिगत व्यवस्था समेत सच्याउने भएको छ ।

खुल्लामञ्चमा भूमिगत पार्किङ निर्माण भएको खण्डमा काठमाडौं महानगरमा भइरहेको पार्किङ समस्या समाधान गर्न यसले भूमिका खेल्ने छ । सुविधासम्पन्न पार्किङसहितको ३ तल्ले सव–वे निर्माण गर्न लागिएको यस पार्किङ क्षेत्रमा बजार, कफिसप र पसलसहितको बेसमेन्ट पार्किङ तथा सब–वे बनाउन सकिने तयारी भएको छ ।

खुल्लामञ्जको ९ हजार १ सय स्क्वायर मिटरमा व्यापारिक केन्द्रका पूर्वाधार बनाइने छ भने बाँकीमा पार्किङका लागि सुविधा दिइने छ ।

दैनिक ३०० हाराहारीमा सवारी थपिँदै

देशमा दैनिक सवारी साधन गुडाउनेको संख्या बढ्दो छ । दैनिक करिब ३०० सवारीसाधन थपिने गरेको बताइन्छ । ट्राफिक महानगरिय प्रहरीका अनुसार दैनिक ५०/६० संखयामा चार पाङग्रे सवारी थपिने गरेका छन् भने २ पाङग्रे सवारी दैनिक १६० देखि १७० थपिने गरेका छन् ।

सडकका जाम हटाउन बनाइएका करिडोर पछिल्लो समय सवारी जामको अर्को कारण बन्न पुगेको छ । सडक छेउमा हुने पार्किङका कारण समेत सडक जाम बढ्ने गरेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले बताए ।पार्किङ प्रयोग नगरी जथाभावि पार्किङ गर्नेको जमातले गर्दा काठमाडौं महानगरको जाम हट्न नसकेको उनले बताए ।

 

पुसदेखि पनौतीमा प्याराग्लाइडिङ गर्न अनुमति Read Previous

पुसदेखि पनौतीमा प्याराग्लाइडिङ गर्न अनुमति

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, पास भएका भने चल्न पाउने Read Next

चुनावका दिन सार्वजनिक सवारी नचल्ने, पास भएका भने चल्न पाउने