पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि ‘क्यालिब्रेसन फ्लाइट’, १४ मिटर काटियो रिट्ठेपानी डाँडा

काठमाडौं । मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी मङ्सिर ५ गतेदेखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन गरिने भएको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर ५ देखि ११ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलमा मङ्सिर ५ गतेदेखि एक साता यान्त्रिक उडान हुने जानकारी दिए । यसअघि प्राधिकरणले मङ्सिर १४ गतेदेखि यान्त्रिक उडान गर्ने जनाएको थियो । पोखरा विमानस्थलमा एकसाता यान्त्रिक उडान हुनेछ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) बाट पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।

यान्त्रिक उडानकोक्रममा हालको पुरानो आन्तरिक विमानस्थलको उडान तालिका हेरफेर हुनसक्ने प्राधिकरणले जनाएको छ । (पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक उडानका क्रममा हाल पुरानो विमानस्थलको आन्तरिक उडान पूर्ण रोक्नुपर्छ भनेर एरोथाइका प्राविधिकले भनेका छन् नयाँ विमानस्थलमा यान्त्रिक उडान गर्नुपर्ने भएकाले पनि उडान तालिका मिलाउने प्रयासमा छौं,’ प्रवक्ता निरौलाले भने ।

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ ।

प्रवक्ता निरौलाका अनुसार पोखरालगायत देशका अन्य विमानस्थलमा यान्त्रिक उडानका लागि एरोथाई कम्पनीको जहाज गत आइतबार नै काठमाडौँ आइसकेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अन्य विमानस्थलको यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाइको जहाज फर्किने प्रवक्ता निरौलाले बताए । एरोथाइको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार तथा प्राविधिक काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए । करिब ३ हजार ९०० रोपनी क्षेत्रफलमा फैलिएको यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल २ हजार ५०० मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ ।

काठमाडौँ विमानस्थलमा यान्त्रिक यडान सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एरोथाइको जहाजबाट यान्त्रिक परीक्षण उडान सुरु भएको छ । आइतबार काठमाडौँ आइपुगेको प्राविधिक उपकरण जडित उक्त जहाजले सोमबारदेखि नै यान्त्रिक उडान सुरु गरेको प्राधिकरणका प्रवक्ता निरौलाले बताए । अहिले दिउँसोको समयमा दैनिक पाँच घण्टा यान्त्रिक उडान भइरहेको छ । पाँच दिनसम्म यान्त्रिक उडान हुनेछ । यो उडानका क्रममा विमानस्थलको नियमित उडान सामान्यरुपमै सञ्चालन भइरहेको प्राधिकरणले जनाएको छ ।

काठमाडौँपछि पोखरा विमानस्थलमा यान्त्रिक उडान हुनेछ । पोखरालगत्तै भैरहवा, नेपालगञ्ज, धनगढी, चन्द्रगढीलगायत विमानस्थलमा परीक्षण उडान हुन्छ । यान्त्रिक उडान हरेक वर्ष गरिन्छ । पछिल्ला दुई वर्ष कोभिड–१९ महामारीका कारण नियमित यान्त्रिक उडान भएको थिए । प्रवक्ता निरौलाले यान्त्रिक उडानमार्फत विमानस्थलमा जडान भएका सञ्चार उपकरणको ‘भेरिफाइड’ गरिने जानकारी दिए ।

१४ मिटर काटियो रिट्ठेपानी डाँडा

ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडा कटानको पहिलो चरणको कार्य सकिएको छ । उक्त डाँडो हालसम्म १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ ।

धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।

एनसीसी बैंकको साधारणसभा स्थगन गर्न निर्देशन Read Previous

एनसीसी बैंकको साधारणसभा स्थगन गर्न निर्देशन

निफ्राको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

निफ्राको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन